दशैँको पिङ सम्झनामा मात्रै
बाग्लुङ । केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बागलुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन्। बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा युवाको जमात कम छ । दशैँ मान्नकै लागि देशका ठूला शहर र विदेशबाट आएका युवासमेत पिङ बनाउने तथा खेल्ने काममा चासो दिँदैनन् । सहज इन्टरनेट चल्ने ठाउँको खोजीमा देखिन्छन्। युवाको अभावका कारण दशैँमा खेलिने काठेपिङ र चमच्चा हराउँदै गएका छन्।
दशैँमा बनाइने काठे पिङका लागि आवश्यक काठसमेत पछिल्लो समय लोप हुँदै गएको छ । पहिलेपहिले चमच्चाका लागि प्रयोग गरिने खिर्रोको रूख अहिले घरछेउका डहरमा देखिँदैनन् । खिर्रोको काठ नभएसम्म काठे पिङ बनाउन कठिन हुने रेशका युवराज शर्मा बताउँछन।
काठ मात्रै होइन पिङ बनाउने ठाउँकोसमेत अभाव छ । निजी जमिनमा धान कोदो फलेको छ भने सार्वजनिक जमीनमा कतै सामुदायिक भवन त कतै विद्यालयका भवन बनेका छन् । बाँकी रहेका सार्वजनिक जमिनकोसमेत उपयोग हुन नसक्दा पिङ बनाउने ठाउँमा जङ्गल बनेको जैमिनी नगरपालिका–१ कुश्मीशेराका शिक्षक उमाकान्त शर्माले बताए।
घरघरमा पुग्ने सडक बनेका कारण विगतमा जस्तो बाटोमा चहलपहल, पैदलयात्रीको ओहोरदोहोर छैन । दशैँका बेला राखिने पिङ चमच्चा खेल्नेको भीड देखापर्न छोडेको छ । गाउँघरमा वृद्धवृद्धा र बालबालिका मात्रै छन्। उनीहरूले काठको प्रयोग गरे चमच्चा बनाउन सक्दैनन् । काठ बोक्नसक्ने युवा कोही रोजगारीको सिलसिलामा विदेशमा छन् भने कोही देशका ठूला शहर छिरेका छन्।
दशैँको बेलामात्रै टीका थाप्न गाउँ आउने युवाले चमच्चा बनाउन समय पाउँदैनन् । पिङ हाल्नका लागि गाउँमा बाबियोसमेत पाइन छाडेको छ । “दशैँका लागि पिङ हाल्नलाई वस्तुबाट जोगाएर बाबियो राख्ने गरिनथ्यो”, स्थानीय दिलबहादुर थापाले भने, “चमच्चाका लागि दुई महीनादेखि तयारी गर्नुपथ्र्यो अहिले हरायो, बाबियो बाटेर पिङ बनाउने र काठ काटेर चमच्चा बनाउने सीप नयाँ पुस्तामा छैन ।”
गाउँमा बसोबास गर्ने अधिकांश मानिस सहर केन्द्रित हुँदा परम्परागत सीपसमेत नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको जैमिनीका कृष्ण शर्माले बताए। शहर बजारमा पाइने यतारी पिङ बाह्रै महिना खेल्न पाइने भएका कारण नयाँ पुस्तामा पिङ र चमच्चाको मोह हराएको उनको अनुमान छ। रासस
Facebook Comment