छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु
काठमाडौं । काठमाडौं, सिन्धुपाल्चोक, उदयपुर, बर्दिया, सोलुखुम्बु र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सडकमा बा १९ च ३५५५ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका हाल वतन नखुलेका अन्दाजी ६५ वर्षीय कृष्ण राज ढकालको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ। जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका ५ स्थित सडकमा बा २ ख ६५८५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका सोही नगरपालिका घलेगाउँ बस्ने भिम बहादुर घलेको छोरी ३ वर्षीया प्रेरणा घलेको जिल्ला अस्पताल चौतारा मा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उदयपुर, कटारी नगरपालिका २ स्थित सडकमा को १ ज ३४०० नम्बरको जिपले ज ५ प ७५५७ नम्बरको मोटरसाइकलसालाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका ९ लदाह भिर बस्ने ३४ वर्षीय रूपेन कुमरको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।
जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बर्दिया, बाँसगढी नगरपालिका ८ स्थित सडकमा भे ५ प ३१८० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ४७ वर्षीय बालकृष्ण थारुको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी मृतकको श्रीमती ४५ वर्षीया सिता प्यारी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक बाँसगढी नगरपालिका ७ देउडा बस्ने २३ वर्षीय दिनेश थारुको मेडिकल कलेज कोहपुरमा उपचार भइरहेको छ।
सोलुखुम्बु, दुधकुण्ड नगरपालिका ११ बरडाँडास्थित सडकमा बा १५ च ९४२० नम्बरको बलेरो जीप शनिबार राति अनियन्त्रित भई सडकबाट खसेर ना १ ज ५३४२ नम्बरको टाटा सुमो जीप माथि खस्दा बलेरो जीप चालक नेचा सल्यान गाउँपालिका २ बस्ने २१ वर्षीय लेख बहादुर खडकाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ना १ ज ५३४२ नम्बरको टाटा सुमो जीपका चालक समेत ९ जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाइएको छ।
सुर्खेत, बिरेन्द्रनगर नगरपालिका १४ राता नाग्लास्थित सडकमा भे १ ज १०८४ नम्बरको जिप अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार जुम्ला गोठीचौर गाउँपालिका ४ बस्ने २५ वर्षीय सुरेन्द्र शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका चालक समेत अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comment