‘दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ’

डिसी नेपाल
२१ असोज २०७६ ७:१३

हेटौंँडा। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नेपालीको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन्। बडादशैंँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आज सन्देश दिँदै उनले विभिन्न चाडपर्वले नेपालीबीच एकता कायम गर्न मद्दत पुगेको बताएका छन्।

“शरद ऋतुको आगमनसंँगै नेपालीहरुको घरआँगनमा आएको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधतायुक्त देश हो।

परापूर्वकालदेखि नै चलिआएका हाम्रो अमूल्य निधिका रुपमा रहेका धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता, रीतिरिवाज, चाडपर्वहरुले विविधताका बीच पनि आपसी शान्ति, प्रेम, भ्रातृत्व र सद्भावको सन्देश दिँदैआएका छन्। यही नै हाम्रो एकताको आधार हो, यही नै हाम्रो पहिचान हो, यसैको जगमा अब सुदृढ वर्तमान र उज्यालो भविष्य निर्माण गर्ने अभिभारा पूरा गर्नु छ ”, सन्देशमा भनिएको छ।

सन्देशमा पौडेलले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रदेश नं ३ सरकार दृढतापूर्वक लागिपरेको बताउँदै समृद्धिका लागि हातेमालो गर्दै अघि बढ्न आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *