दशैँमा समेत मुख्यमन्त्री पौडेल किसानको खेतबारीमा

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले प्रदेशको कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैभन्दा धेरै लगानी गरेको बताएका छन्।
आज हेटौँडाको विभिन्न कृषि फारम तथा कृषि बालीको अनुगमन तथा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले आगामी दिनमा समेत लगानी वृद्धि गर्दै जाने धारणा राखे।
उनले युवाहरुलाई कृषितर्फ आकर्षित गर्न प्रदेश सरकारले थुप्रै कार्यक्रमहरु ल्याएको भन्दै कृषिमा थुप्रै सम्भावना भएको धारणा राखे। उनले कृषकहरुका थुप्रै समस्याहरु सुनिने गरेको बताउँदै मल, बीउ, सिँचाइलगायतका समस्या समाधान गर्न तथा उत्पादन वृद्धि गराउने आधुनिक प्रविधि भित्र्याउन पहल गरिने उल्लेख गरे।
प्रदेश सरकारको पहिलो प्राथमिकता कृषि नै भएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कृषि प्रवद्र्धनमार्फत उत्पादन वृद्धि गरेमा मात्रै प्रदेशसँगै सिङ्गो राष्ट्र समृद्ध हुने बताए।
उनले कृषिमा उपलब्धी हासिल गरेका कृषकहरुले नयाँ र कृषि क्षेत्रमा केही गर्न चाहने युवाहरुलाई अनुभव तथा सीप हस्तान्तरण गर्नुपर्ने धारणा राखे।
मुख्यमन्त्री पौडेलले आज हेटौँडाको विभिन्न कृषि क्षेत्रको अवलोकन गरेका हुन्। दशैँमा समेत किसानको खेतबारीमा पुगेपछि व्यावसायिक किसानहरु खुशी भएका छन्।
मुख्यमन्त्रीको अनुगमन तथा अवलोकनले किसानहरु खुशी भएको मञ्जुश्री आधुनिक फूल तथा तरकारी खेतीका सञ्चालक बालकृष्ण चौलागाईँले बताए।
मुख्यमन्त्रीले यस क्षेत्रको कृषिमा ठूलो चासो राखेको तथा हौसला प्रदान गरेको चौलागाईँको भनाइ छ। उनले यस क्षेत्रमा सिँचाइको समस्या रहेको बारे मुख्यमन्त्रीलाई जानकारी गराएको र मुख्यमन्त्रीले भूमिगत सिँचाइका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका जानकारी दिए।
Facebook Comment