चुनावमा होमिँदै दलहरु
काठमाडौं। दशैं सकिएसँगै दलहरु चुनावमा होमिने भएका छन्। अगामी मंसिर १४ गते हुने उप निर्वाचनका लागि दलहरु चुनावमा होमिन लागेका हुन्।
निर्वाचन आयोगले मतदानको मिति तोके पनि अन्य चुनावी कार्यक्रम भने सार्वजनिक गरिसकेको छैन। २०७४ मा भएको स्थानीय निर्वाचनबाट पूर्ति भएका पदहरु जनप्रतिनिधिहरुको मृत्यु र अन्य कारणले रिक्त भएका स्थानहरुका लागि उपनिर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि एक स्थानमा र प्रदेशसभाका लागि ३ स्थानमा उपनिर्वाचन हुने छ। कास्की निर्वाचन क्षेत्र २ का तत्कालीन सदस्य रवीन्द्र अधिकारीको मृत्युपछि रिक्त भएको क्षेत्रमा उपनिर्वाचन हुने एकमात्र प्रतिनिधिसभा सिट हो।
यस्तै गण्डगी प्रदेशसभा सदस्यका लागि बागलुङ निर्वाचन क्षेत्र २ को ख मा, प्रदेश नम्बर ३ को भक्तपुर १ को क तथा प्रदेशसभा नम्बर ५ को दाङ क्षेत्र ३ को क का लागि गरेर प्रदेशसभाका तीन सिटका लागि मतदान हुनेछ। यी सबै सिटमा हालको नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुको निधन भएका कारण पदहरु रिक्त भएका हुन्।
यस्तै एक उपमहानगरपालिका मेयर र दुई गाउँपालिका अध्यक्ष तथा ४४ जना वडा अध्यक्षका लागि पनि मंसिर १४ गते मतदान हुने छ। निर्वाचन आयोगले चुनाव मिति तोकिसकेपछि पनि केही वडा अध्यक्षको पद रिक्त भएकाले चुनाव हुने वडा अध्यक्षहरुको संख्या बढ्ने छ।
निर्वाचन आयोगले चुनाव हुने वडा अध्यक्षको संख्या सार्वजनिक गरिसकेपछि पनि सरकारले थप २ वडा अध्यक्षका लागि चुनाव गराउन सिफारिस गरिसकेको छ।
सुनसरीको धरान उपमहानगर पालिकाको मेयरका लागि चुनव हुँदैछ। यहाँ तत्कालीन एमालेका उम्मेदवार मेयरमा विजयी भएका थिए। तर, उनको निधन भएपछि रिक्त भएको स्थानमा उप निर्वाचन हुन लागेको हो।
यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि मतदान हुनेछ। यहाँ नेपाली काँग्रेसबाट विजयी अध्यक्षको निधन भएपछि रिक्त भएको स्थानका लागि मतदान हुने भएको हो।
यस्तै संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि पनि मतदान हुनेछ। यहाँका अध्यक्ष तत्कालीन एमालेबाट विजयी भएका थिए। उनको निधनपछि यहाँ चुनाव हुन लागेको हो।
उपनिर्वाचनमा सहभागी हुन विभिन्न २१ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। आयोगले उनीहरुलाई चुनाव चिन्ह पनि दिइसकेको छ।
चुनावी प्रतिस्पर्धामा २१ दल जाने भए पनि मुख्य प्रतिस्पर्धा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच नै हुने देखिएको छ। तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएर नेकपा बनेपछि यो दल पहिलो पटक चुनावमा जान लागेको हो। रिक्त भएका धेरैजसो स्थानमा यही दल सम्बद्ध उम्मेदवारहरु विजयी भएकाले पनि नेकपा बलियो प्रतिस्पर्धी हो।
नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले चाडवाड सकिएपछि पार्टी चुनावमा केन्द्रित हुने बताए। उनले जिल्लामा चुनाव केन्द्रित कार्यक्रमहरु भइरहेको भए पनि उम्मेदवारका विषयमा छलफल भइनसकेको बताए।
उता नेपाली काँग्रेसले पनि चाडवाड सकिएपछि काँग्रेस चुनाव केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनले वर्तमान सरकारप्रति जनतामा नैराश्यता छाएको र काँग्रेसले जनतामा उत्साहको सन्देश दिँदै चुनावमा होमिने बताए।
यो उपनिर्वाचनमा सबैभन्दा आकर्षणको केन्द्र कास्की निर्वाचन क्षेत्र २ र धरान उपमहानगर रहनेछ। एकमात्र प्रतिनिधि सभा क्षेत्रको चुनाव हुने भएकाले कास्की क्षेत्र नम्बर २ को आकर्षण बढेको हो।
तत्कालीन पर्यटनमन्त्रीसमेत रहेका अधिकारीको निधनपछि रिक्त यो स्थानमा नेकपाले वामदेव गौतमलाई उम्मेदवार बनाउने चर्चा चलेपछि उपनिर्वाचनको मिति घोषणा भएसँगै कास्की चर्चामा छ। तर गौतमले आफू उम्मेदवार नबन्ने बताइसकेका छन्।
उता पूर्वी नेपालको विराटनगरपछिको सबैभन्दा ठूलो शहर र धेरै मतदाता भएकाले धरानको आकर्षण बढेको हो। यहाँ प्रमुख राजनीतिक दलहरुसँगै उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीको पनि उल्लेख्य मतदाता रहेकाले समाजवादी दलले खेल्ने भूमिकाले चुनावी परिणाम प्रभावित हुनेछ।
Facebook Comment