प्रहरी सेवा जिम्मेवार बनोस् : मुख्यमन्त्री राउत
जनकपुरधाम। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी सेवालाई समयसापेक्ष बनाउनु आवश्यक भएको बताएका छन्। ६४औँ प्रहरी दिवस–२०७६ का अवसरमा प्रदेश नं २ प्रहरी कार्यालयद्वारा शक्रबार जनकपुरधाम आयोजित समारोहमा मुख्यमन्त्री राउतले पुरानै कार्यशैलीबाट शान्तिसुरक्षा कायम असम्भव रहेको प्रसङ्ग उल्लेख गरे। उनले प्रहरीले निर्दोषलाई दोषी बनाउने क्रियाकलापको अन्त्य गर्दै मुस्कानसहितको सेवालाई चरितार्थ गर्नु जरुरी छ भने।
मुख्यमन्त्री राउतले प्रहरी हाम्रै बीचको साथी नै हो भन्ने भावनाको विकासका लागि हिजोका विकृति र कमी–कमजोरीबाट उन्मुक्ति पाउनु आवश्यक छ भन्दै पुरानो सोच त्याग गरी इमान्दारीका साथ जिम्मेवारी बहन गर्नुपर्ने खाँचो औँल्याए।
प्रदेश सरकार प्रहरी सङ्कायलाई सङ्घीयताअनुरूप प्रविधियुक्त र स्रोतसाधनले सम्पन्न बनाउने सन्दर्भमा गम्भीर रहेको चर्चा गर्दै उनले प्राकृतिक विपद्का बेला प्रहरीले पुर्याएको सेवा प्रशंसनीय भएको प्रसङ्ग उल्लेख गरे।
हिजोका दिन बिर्सिंदै प्रहरी सङ्कायलाई समसामयिक हिसाबले तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेश सरकार प्रहरी सेवा जिम्मेवार बनोस् भन्ने चाहना राखेको बताए।
आन्तरिक मामिला र कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सङ्घीय संरचना अनुरूपको नयाँ प्रहरी ऐन निर्माणको खाँचो आैंल्याए।
प्रहरीको क्षमता अभिवृद्धि, वृत्ति विकास, समयसापेक्ष कार्य सम्पादन योग्य बनाउने व्यवस्थापनका लागि सरकार गम्भीर रहेको पनि उनले बताए।
समारोहमा प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले प्रहरीका गतिविधि बारेमा जानकारी गराएका थिए। रासस
Facebook Comment