‘जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने अपराध अक्षम्म : गृहमन्त्री थापा

डिसी नेपाल
२४ असोज २०७६ १३:३४

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालबालिका विरुद्धका हिंसामा शून्य शहनशीलता अपनाइ कारवाही अघि बढाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

६४ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आर्थिक अनियमिता तथा महिला र बालबालिका विरुद्धका हिंसाका घटनामा संलग्न तत्वलाई निस्तेज पार्न निर्देशन दिएका हुन्। उनले नाम उल्लेख नगरिकनै ‘जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने त्यस्ता क्रियाकलाप क्षम्य नहुने उल्लेख गरे।

उनले भने, ‘आर्थिक अनियमितता, महिला तथा वालबालिमामाथि हुने हिंसा विरुद्धको हरेक क्रियाकलाप विरुद्ध शून्य सहनीलता अपनाई आपराधिक तत्वलाई निस्तेज पार्न डटेर काम गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु। जनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानून उल्लघन भएको र आर्थिक अनियमिता गरेको कार्य कदापि क्षम्य हुदैन। त्यस्तालाई कारवाही गर्न कुनै हिचकिचाहट हुने छैन।’

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि कसुरको अनुसन्धान प्रक्रियालाई अनुमान र आमरायले प्रभाव पार्न नहुने बताए। कसुरको शिघ्र अनुसन्धान गरी संलग्न दोषी छिट्टै पक्राउ परोस भन्ने आमअपेक्षा हुनु स्वभाविक भएपनि अनुसन्धान विज्ञान भएकाले समय लाग्ने उल्लेख गर्दै उनले प्रहरीको अनुसन्धान प्रक्रियालाई आमराय र अनुमानले प्रभाव पार्न नहुने बताएका हुन्।

उनले लागु औषध, मानववेचविखन, विद्युतीय कसुर, अबैध हातहतियार ओसार पसार र तस्करी नै अपराधका मुख्य चुनौती भएको र त्यस्ता अपराधका सञ्जाल अन्तरदेशीय सम्पर्कमा विस्तार हुँदै गएको उल्लेख गरे।

उनले त्यस्ता अपराधको प्रभावकारी अनुसन्धानका लागि प्रहरी संगठनको क्षमता विस्तारको साथै आवश्यक साधन स्रोतको उपलब्धता अत्यावश्यक रहेको बताए।  कार्यक्रममा कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका ४३ जना प्रहरीलाई अमर प्रहरी घोषणा गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *