चिनियाँ राष्ट्रपतिको सम्मानमा सांंस्कृतिक झाँकी प्रदर्शन

डिसी नेपाल
२५ असोज २०७६ १९:४५

काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागत तथा सम्मानमा नेपालका विभिन्न जातजाति तथा संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन्।

राष्ट्रपति सीको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष, सिनामङ्गल, तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोडलगायत स्थानमा झाँकी प्रदर्शन गरिएको संयोजक सांस्कृतिक संस्थानको संस्थानका सूचना अधिकारी पवित्रा पँगेनीले जानकारी दिइन्।

यसैगरी राष्ट्रपति सीको सम्मानमा होटल सोल्टीमा विशेष सांस्कतिक प्रस्तुति तथा नेपाली र चिनियाँ नृत्य प्रस्तुत गरिने संस्थानका सङ्गीत प्रबन्धक खर्कबहादुर मगरले जानकारी दिइन्।

उक्त सांस्कृतिक प्रस्तुतिमा २५ कलाकारको सहभागिता रहने छ। नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए।

विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको थियो। विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका सर्वसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए।

विशेषगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि राष्ट्रपतिको आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिँगारिएको थियो।

विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो । राष्ट्रपति भण्डारी र उनका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुनेछ।

चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ राजकीय भोजको आयोजना गरेकी छन्। तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *