गर्भमा विकसित हुँदै गरेको शिशुको हातको मांसपेसी छेपाराको जस्तै
बीबीसी। वैज्ञानिक अनुसन्धानले गर्भमा रहेका शिशुका हातमा छेपारोको जस्तो अतिरिक्त मांसपेशी बन्ने तर अधिकांश व्यक्तिमा जन्मिनुअघि लोप हुने पत्ता लागेको छ।
डेभलपमन्टु जर्नलमा जीववैज्ञानिकहरूले उल्लेख गरेअनुसार मानवजातिमा छोटो समयका लागि देखिए पनि ती मांसपेशी सम्भवतस् क्रमविकासका धेरै पुराना अवशेष हुन्।
उनीहरूले त्यसलाई सरीसृपबाट स्तनधारीमा रूपान्तरण भएको बेलाको अर्थात् २५ करोड वर्ष पुरानो अवशेष मानेका छन्।
तर मानिसको शरीरले किन त्यो बनाउँछ र जन्मिनुअघि लोप हुन्छ भन्ने स्पष्ट छैन।
वैज्ञानिकहरूले विकासको त्यो चरणको औँलाको चालसँग सम्बन्ध भएको अनुमान गरेका छन्। अरू औँलामा हराए पनि मानिसको बूढीऔँलामा एउटा अतिरिक्त मांसपेशी बाँकी रहन्छ।
कहिलेकाहीँ केही मानिसमा अतिरिक्त औँला र हातका मांसपेशी भएको देखिन्छ। तर वैज्ञानिकहरूले गर्भाशयमा सातदेखि १३ हप्तासम्मका भ्रूणका थ्रीडी स्क्यानमा कहिल्यै पनि सबै डोर्सोमेटकार्पल नामक मांसपेशीहरू देखेनन्।
कहिलेकाहीँ बाँकी रहँदा ती मांसपेशीहरू शारीरिक विकृतिसँग सम्बन्धित हुन्छन्। वैज्ञानिकहरूले अध्ययन गरेका १५ विकासोन्मुख शिशुमा पत्ता लागेको तथ्यले जन्मजात हुने त्यस्ता विकृतिबारे बुझ्न सघाउँछ।
शोधका मुख्य लेखक तथा अमेरिकास्थित हार्भर्ड विश्वविद्यालयका डा। रुई डिओगो भन्छन्, ‘हाम्रो बूढीऔँलातर्फ जाने थुप्रै मांसपेशी हुन्छन्, बूढीऔँलाको चाल निश्चित हुन्छ। तर अरू औँलातिर जाने धेरै मांसपेशी हामी गुमाउँछौँ।’
‘हाम्रो क्रमविकासमा हामीलाई तिनको त्यति खाँचो परेन।’
‘त्यसो भए ती किन बन्छन् त? क्रमविकासमा ‘म सबै कुरा मेट्छु। माइलीऔँलादेखि कान्छीऔँलासम्म जाने सबै मासंपेशी हटाउँछु, खालि बूढीऔँलातिर जाने एउटा राख्छु’ भन्न हामी सक्दैनौँ।’
‘यो त्यति सजिलो छैन। सम्भवतस् यो मांसपेशीको एक तह बन्नुपर्छ अनि त्यसपछि यो अरू औँलाबाट हराउँछ। तर बूढीऔँलामा बाँकी हुन्छ।’
उनले यी मांसपेशीहरू एपेन्डिक्स, बुद्धि बङ्गारो र पुच्छरको हाड जस्ता मानिसको शरीरमा बाँकी रहने उपयोगविहीन अवयवभन्दा निकै असाधारण भएको बताए।
उनले भने, ‘यी मांसपेशीहरू २५ करोड वर्षअघि नै लोप भएका हुन्।’
‘कुनै पनि वयस्क स्तनधारी जीवमा यी मांसपेशीहरू हुँदैनन्। न मुसामा न कुकुरमा हुन्छ। यो वास्तवमा धेरै पहिलाको कुरा हो।’
‘हाम्रो प्रजातिको भन्दा पनि माछा, भ्यागुता, कुखुरा र मुसाको प्रारम्भिक विकासबारे हामीलाई धेरै थाहा थियो। तर अहिले नयाँ प्रविधिहरूले हामीलाई मानव विकासबारे विस्तृत रूपमा बुझ्न सघाएका छन्।’
मानव र पुच्छर नभएका वानरजस्ता जीवको अध्ययन गरेका अमेरिकन म्यूजीअम अफ न्याचरल हिस्ट्रीसँग सम्बद्ध मानवशास्त्री डा. सर्गेई अल्मेसिजाले यो अध्ययनबाट मानव विकाससँग सम्बन्धित गम्भीर कुरा बुझिएको तर कैयौँ प्रश्नहरू उठेको बताए।
उनी भन्छन्, ‘यो अध्ययनको मौलिकता के हो भने यसले सटीक रूपमा हाम्रो विकासका क्रममा कहिले कुन संरचना देखा पर्छन् र हराउँछन् त्यसको दृश्याभास गर्न सघाउँछ।’
उनको प्रश्न पनि छ। भन्छन्, ‘अब मेरो लागि महत्त्वपूर्ण प्रश्न हो– हामीले अन्य के कुरा गुमाइरहेका छौँ? मानव शरीरको विकासको चरणमा यसरी विस्तृत रूपमा निरीक्षण गरिए हामी के पाउँछौँ?’
‘के कारणले निश्चित संरचना हराउँछ र फेरि प्रकट हुन्छ? अहिले हामीले यो कसरी हुन्छ भन्ने हेर्न सक्छौँ तर किन भन्ने प्रश्न पनि छ।’
जीववैज्ञानिकहरूले मानव शरीरका अन्य अङ्गको विस्तृत अध्ययन गर्न थप काम गर्ने योजना बनाइरहेका छन्।
उनीहरूले गर्भस्थ शिशुको पैतलाको अध्ययन गरेर अतिरिक्त मांसपेशी विकसित हुने र पछि लोप हुने पत्ता लगाएका छन्।
बाँदर र चिम्पान्जीजस्ता अन्य जीवमा अहिले पनि त्यस्ता मांसपेशीहरू छन्। अग्लो ठाउँमा चढ्न र वस्तु समाउन प्रयोग तिनको प्रयोग हुन्छ।
डा. डिओगोले भने, ‘केही कुरा हामीले गुमाइरहेका छौँ। त्यसको अर्थ हामी राम्रो मानव भइरहेका वा हामीले प्रगति गरिरहेको भन्ने होइन। हामीलाई सुपर–ह्यूमन (अर्थात् महामानव)बनाउने कुरा हामीले गुमाएका छौँ।’
‘सुपर–ह्यूमनमा ती मांसपेशी हुन्थे किनभने तिनले बूढीऔँलाजस्तै अरू औँला र खुट्टा पनि चलाउन सक्थे।’
‘हामीले ती गुमायौँ किनभने हामीलाई ती चाहिँदैन।
Facebook Comment