काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुन्छ : अध्यक्ष दाहाल

डिसी नेपाल
२६ असोज २०७६ २०:४८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको बताएका छन्।

काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले काङ्ग्रेसलाई आफूले नेपालको परिवर्तनको सहयात्री दलका रुपमा लिएको बताए।

उनले भने, “हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ, मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको सङ्कल्प जारी रहनेछ।”

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुआत काङ्ग्रेसबाटै भएको बताउँदै उनले अहिले यो एउटा राष्ट्रिय राजनीतिक संस्कृति जस्तै गरी स्थापित भएको छ भने।

“अहिले सबैले शुभकामना आदानप्रदान कार्यक्रम हाम्रो ऐतिहासिकता, संस्कृति र राजनीतिक सहकार्यको चरित्रलाई अक्षुण राख्ने माध्यम बन्न गएको छ”, अध्यक्ष दाहालले भने। राजनीतिमा असम्भव भन्ने कुरा केही नभएको उनको भनाइ थियो।

“असम्भव देखिने कुरा पनि राजनीतिक पार्टी र नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउने कुराको ठूलो दृष्टान्त पछिल्लो चरणमा काङ्ग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा हस्ताक्षर भएको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सहकार्यको सहयात्राले प्रमाणित गरेको छ”, अध्यक्ष दाहालले भने।

सो अवसरमा अध्यक्ष दाहालले यस प्रकारका शुभकामना आदानप्रदान गर्दै गर्दा त्यो महाअभियान, त्यतिबेला लिएका सङ्कल्प र प्रतिबद्धता प्रति दृढ रहँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्ने कुरा नै मुख्य हो भने।

विसं २०३३ मा काङ्ग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *