टर्कीविरुद्ध कुर्द लडाकु र सिरियाली सेना एकजुट

डिसी नेपाल
२७ असोज २०७६ १५:५२

दमास्कस (एजेन्सी) । सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न बशर अल–असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका छन् । त्यसको केहीअघि सिरियाको सरकारी सञ्चारमाध्यमले सरकारी फौज देशको उत्तरी सीमामा पठाइएको बताएको थियो ।

सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमक्रेटिक फोर्सेस (एसडीएफ) ले सघाएको थियो । तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा विवादास्पद कदमका रूपमा त्यहाँको जटिल परिस्थितिमा आफ्नो सेना फिर्ता गर्ने निर्णय गरेका थिए । कुर्द नेतृत्वको प्रशासनका अनुसार सिरियासँग भएको सहमतिअनुरूप उत्तरी सिरियाको पूरै सीमामा सिरियाली सैनिकहरू परिचालित हुनेछन् । सिरियाली सेनाले एसडीएफलाई टर्कीको आक्रमणको प्रतिकार गर्न तथा टर्कीको सेना तथा उसले खटाएका अन्य लडाकुलाई हटाउन सघाउने उसको अपेक्षा छ ।

कुर्द प्रशासनले यो कदमले ‘टर्कीले कब्जा गरेका सिरियाली सहरहरूलाई मुक्त गर्न सघाउने’ बताएको छ । अमेरिकाको संरक्षण गुमाएपछि कुर्दहरूले सिरियासँग गरेको यो गठबन्धनलाई महत्त्वपूर्ण मानिएको छ । तर सिरिया सरकारले उनीहरूसँग कस्तो वाचा गरेको छ त्यसबारे थाहा भइसकेको छैन । अमेरिकी सेना सिरियाबाट फर्किएपछि टर्कीले गत साता कुर्दहरूविरुद्ध आक्रमण सुरु गरेको हो ।

टर्कीको सेनाले एसडीएफको नियन्त्रणमा रहेका क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरिरहेको छ । यो सप्ताहान्तमा सिरियाका सीमावर्ती मुख्य दुई सहरमा टर्कीले नियन्त्रण कायम गरेको छ । संघर्षका क्रममा दुवैतिर दर्जनौँ सर्वसाधारण र लडाकुहरू मारिएका छन् । सिरियन अब्जर्भटरी फर ह्यूमन राइट्सका अनुसार अहिलेसम्म ५० सर्वसाधारण र १०० सय भन्दा बढी कुर्द लडाकु मारिएका छन् । टर्कीले ४४० कुर्द लडाकुको मृत्यु भएको दाबी गरेको छ । आफूतर्फ १८ जना सर्वसाधारण र चार सैनिक मारिएको उसको भनाइ छ । एसडीएफले भने आफ्ना ५६ लडाकुको मृत्यु भएको बताएको छ ।

संघर्ष चर्किएकै बेला आइतवार इस्लामिक स्टेट (आईएस) का सदस्यका ८०० नातेदारहरू ऐन इस्सास्थित एउटा शिविरबाट भागेका छन् । सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि उत्तरी सिरियाको अधिकांश भाग सिरियाली सरकारको नियन्त्रणमा छैन । सन् २०१५ देखि त्यहाँ एसडीएफको नियन्त्रण थियो । इस्लामिक स्टेट समूहविरुद्ध अमेरिकाले गरेको संघर्षमा एसडीएफले सघाएको थियो । तर टर्कीले एसडीएफलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने ‘आतंकवादी’ मान्छ । आफूले गरेको आक्रमण कुर्द लडाकुहरूलाई धपाएर ‘सुरक्षित क्षेत्र’ निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको छ ।

अंकारा हाल टर्कीमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थीलाई पुर्नस्थापित गराउन चाहन्छ । तीमध्ये धेरैजसो गैरकुर्द छन् । टर्कीले सीमापारि सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

अन्य सहायता समूहहरूले झन्डै साढे चार लाख मानिहरू घर छोडेर भाग्न बाध्य भएको दाबी गरेका छन् । कतिपय आलोचकहरूले टर्कीको कदमबाट स्थानीय कुर्द जनसंख्याको जातीय नरसंहार हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । टर्कीका राष्ट्रपतिले अहिलेसम्म २१ गाउँसमेत १०९ वर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकिएको आइतवार बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *