पारसको राजीनामापछि समर्थकहरुले के भने?

डिसी नेपाल
२८ असोज २०७६ १६:२७

काठमाडौं। नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले मंगलबार अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएपछि तरंग आएको छ। उनले आईसीसीले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा र क्यानमा नयाँ कार्य समिति आएसँगै पदबाट राजीनामा दिएपछि त्यसलाई क्रिकेट प्रेमीहरुलाई आश्चार्यमा पारेको छ।

मंगलबार कप्तान पारसले नयाँ शिराबाट शुरुआत गर्नुपर्ने भन्दै कप्तानबाट राजीनामाको घोषणा गरेका थिए। २००९ देखि १० वर्षसम्म नेपाली क्रिकेट टिमको नेतृत्व गरेका खड्काको राजीनमापछि सामाजिक सञ्जालहरुमा यो विषयमा बहस भइरहेको छ। कसैले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् भने कसैले अब खेलाडीका रुपमा पारसले क्रिकेटलाई योगदान दिनुपर्ने सुझाव तथा शुभकामना दिएका छन्।

पारसले ट्वीटरमा राजीनामा शेयर गरेपछि त्यसमा यो समाचार तयार पार्दासम्म ३ सय बढि रिप्लाई आएका छन् भने ६ सयभन्दा धेरै रिट्वीट भएको छ। नेपाली टिमका स्टार स्पीनर सन्दीप लामिछानले कप्तान पारस खड्कासँगैको एक तस्वीर पोस्ट गर्दै पारसको कप्तानीमा आफुले करिअर शुरुआत गरेको र महत्वपूर्ण उपलब्धि प्राप्त गरेको स्मरण गरेका छन्।

ट्वीटरमा कप्तान पारस खड्कालाई रिप्लाई गर्दै न्यौपाने प्रेम नारायण नामका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘समय र परस्थितिले सबैलाई सँधै साथ दिँदैन तर आज पारसलाई दुवैले साथ दिएको छ। पारस र नेपाली क्रिकेटको उद्वेश्य पूरा भएको छ। पारस तिमी हाम्रो मुटुको धड्कन हौ, त्यसैले त तिमी कप्तान नभए पनि नेपाली क्रिकेटको मैदानमा तिम्रो आवश्यकता महसुस गर्छ सबै नेपालीले। मार्गनिर्देशन सबैले पछ्याउन्।’

सामाजिक सञ्जालमा पारसका समर्थक तथा क्रिकेट प्रेमीहरुले उनलाई राजीनामा फिर्ता लिनसमेत आग्रह गरेका छन्। उनीहरुले नेपाली क्रिकेट टिमलाई अझै पारसको नेतृत्व आवश्यक रहेको भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *