जब प्रज्ञा प्रतिष्ठानको पर्दा खुल्यो…
काठमाडौं । हिउँदको शुरुआतसँगै पाँच बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो। राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो। यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने कला संस्कृतिका माध्यमबाट साहित्यप्रेमीको मन तताउने तयारी हुँदै थियो।
कला, साहित्य तथा संस्कृतिमा गहिरो लगाब भएका मूर्धन्य व्यक्तित्वको प्रतिष्ठान परिसरमा बाक्लै उपस्थिति थियो।
तिनै साहित्यप्रेमीको मन तताउन प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रमको तयारी तीव्र भइरहेको थियो। दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन, २०७६ मा सहभागी हुन नेपाल आएका विदेशी साहित्य अनुरागी पनि नेपाली कला संस्कृतिको अवलोकन गर्न व्यग्र प्रतिक्षामा थिए।
नेपाल प्रज्ञा प्रतिष्ठानले सम्मेलनमा सहभागी हुन काठमाडौँ आएको स्वदेशी तथा विदेशी साहित्यकर्मीको स्वागतमा आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। साँझ ५ बजेका लागि कार्यक्रम आयोजना गरिए पनि तयारी स्वरुप केही समय ढिला भएको थियो।
प्रतिष्ठान परिसरमा उपस्थित साहित्य अनुरागीभित्र हलमा प्रवेश गर्दा पर्दा बन्द थियो। साहित्यप्रेमी कतिबेला पर्दा खुल्छ र कला संस्कृतिमा रम्न पाइन्छ भनेर व्यग्र प्रतिक्षामा थिए। झण्डै आधा घन्टा ढिला गरी हलको पर्दा खुल्यो, पर्दाभित्र समग्र नेपालको ग्रामीण भेगको वस्तुस्थित झल्कने गरी घरको स्वरुप दिइएको थियो। लाग्थ्यो प्रतिष्ठानको हलभित्रै ग्रामीण भेग हुने घर टपक्कै टिपेर ल्याइएको छ।
खरको छाना। पिँढीको खाँबो, झ्याल र ढोकामा ‘खोटो’ दलिएको, छानामाथि नाङ्ग्लामा गुन्द्रक, खुर्सानी सुकाइएको, पिँढीको ‘बलो’मा मकैको झुत्ता झुण्डयाइएको, अनि उज्यालोका लागि ‘लालटिन’ बालिएको, पिँढीमा जाँतो, डोको…यस्तैयस्तै।
विदेशीका माझ ती ग्रामीण पर्यटन प्रवद्र्धनको उत्कृष्ट नमूना नै थिए। तीनै घरको पिँढीमा कलाकार बाद्यवादनको साधनसहित तम्तयारी अवस्थमा बसेका थिए।
प्रतिष्ठानको सिङ्गो टोली अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धन गर्दै नेपाली कला, संस्कृति विदेशी साहित्यकारलाई देखाउन आतुर थियो।
प्रतिष्ठानकै आयोजनामा गरिएको सो सांस्कृतिक कार्यक्रममा सांस्कृतिक संस्थान (नाचघर)का कलाकारले नेपालको कला संस्कृति झल्कने कलाकृति र नृत्य प्रस्तुत गरेका थिए। नेपालको सांस्कृतिक वैभव पस्केका थिए।
पश्चिमा संस्कृतिको गलत प्रभाव चिरेर एशियाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो।
मादल, ढोलक, बाँसुरीलगायत परम्परागत नेपाल लोकबाजाका साथको प्रस्तुतिबाट नेपालीसहित विदेशी साहित्यप्रेमी मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीत, संगीत तथा नृत्यले विदेशी पाहुँनामाझ नेपाल कला संस्कृतिकमा निकै धनी भएको प्रतीत गरेको थियो।
पूर्वी, पश्चिमी, हिमाल, पहाड, तराई तथा उपत्यकाका जनजाति विदेशका गीत सङ्गीतले प्रतिष्ठान गुन्जायमान बनेको थियो। सास्कृतिक कार्यक्रममा मञ्जुश्री नाच, झागन, सेब्रु, कौडा, टप्पा, धिमे, साकेला, भुम्रा र हुड्केली गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रस्तुत गरिएका नेपाली कला संस्कृतिले साहित्यिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने साहित्य अनुरागीको भनाइ थियो।
कार्यत्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले यस्ता सांस्कृतिक कार्यक्रममले एशियाली मुलुकबीच सद्भाव, सहिष्णुता, समन्वय, सहअस्तिस्व र शान्तिको भावना जागृत गराउने विश्वास व्यक्त गरे।
सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता हुनेछ। आगामी कात्तिक ३ गतेसम्मे चल्ने सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुनेछ।
सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ। असोज ३० गते चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवम सांस्कृतिकस्थलको भ्रमण गराइनेछ।
यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो। साँझ छिप्पिसकेको थियो। हुड्केली नृत्यले तातेका साहित्यप्रेमी प्रतिष्ठानको हलबाट बाहिरिँदै गर्दा भन्दै थिए, “बाहिर कस्तो चिसो भइसके छ।” रासस
Facebook Comment