विश्व च्याम्पियन उसुमा नेपाली खेलाडी प्रतिस्पर्धा गर्ने
काठमाडौं। चीनको संघाई शहरमा आयोजना हुने १५ औँ विश्व उसु प्रतियोगिता नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । असोज ३० देखि कार्तिक ७ गतेसम्म संचालन हुने विश्व च्याम्पियनसिपमा नेपालका ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् ।
११ खेलाडी सहित ५ जना अफिसियलले सहभागिता जनाउने उक्त १६ जना टोलीको नेतृत्व नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले गरेका छन् । नेपाली टोली असोज ३० गते विहिवार त्यसतर्फ उड्ने कार्यक्रम रहेको छ । टोली नेता अध्यक्ष तामाङले विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गर्ने र त्यसको अनुभव नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा देखाउने बताए ।
गैरिधारा रेष्टुरेन्टमा आयोजित विदाई कार्यक्रममा विश्व च्याम्यियन उसु प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुको हौसला बढाउन उसु महासंघले खेलाडीहरुलाई एक एक सेट ‘केल्मी ट्रयाकसुट’ प्रदान गरेको थियो । उक्त ट्रयाकसुट महासचिव लामाले खेलाडीलाई हस्तान्तरण गरेका थिए ।
खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गर्न अध्यक्ष वीरवहादुर तामाङले ४० हजार, उपाध्यक्ष नानीबाबु तामाङले २५ हजार र महासचिव ल्हाकपा छिरिङ लामाले २५ हजार सहयोग गरेका थिए । विदाई कार्यक्रमा महासचिव लामाले सहभागी खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्ने कुरामा विश्वास प्रकट गर्दै सफलताको शुभकामना दिए ।
सो अवसरमा उसुका मुख्य प्रशिक्षक अमरकुमार सिंह र टेक्नीकल डाइरेक्टर गणेश अर्याल र महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । खेलाडीको बिदाइ बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालबाट हुने कार्यक्रम छ ।
Facebook Comment