विप्लव समूहको राप्ती ब्यूरो बैठकमै छापा हानेको थियो प्रहरीले

डिसी नेपाल
३० असोज २०७६ ११:२६

काठमाडौं। बुधबार राति दाङमा भूमिगत तथा प्रतिबन्धित नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपाको राप्ती ब्यूरो बैठक थियो। यो सूचना प्रहरीले पायो। त्यहाँ सो समूहका ठूला नेता पनि उपस्थित हुने जानकारी पाएको प्रहरीले तयारी गरेरै सबै नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने योजना बनायो।

प्रहरीले सूचना पाएअनुसार दाङको कुनै स्थानमा विप्लव समूहको रानप्ती ब्यूरो बैठक शुरु भयो। बैठक शुरु भएको केही समयमै प्रहरी त्यहाँ पुग्यो।

प्रहरीले दाङबाट ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना कार्यकर्ता पक्राउ परेको जनाएको छ।

विप्लव समूह निकट एक फेसबुक अकाउन्ट ‘जनपत्रकार संगठन नेपाल’ले बिहीबार बिहान लेखेको छ, ‘नेपाल कम्युनिष्ट पार्टीकोे राप्ती ब्यूरो बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ । बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य एवम् कमाण्ड ईन्चार्ज विरंजग, राप्ती ब्यूरो ईन्चार्ज सुवास, युवा संगठनका अध्यक्ष पाटन लगायत २१ जनालाई दाङको राजपुर गाउँपालिका ४ मुङ्रेटाखोलाबाट गएराति पक्राउ गरिएको हो ।’

उनीहरुलाई बिहीबार राति १ बजे राजपुर गाउँपालिकाको नरेठाँट जंगलमा रहेको एक घरमा बैठक बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए। पक्राउ पर्ने मध्ये एकजना पार्टी महासचिब नेत्रविक्रम चन्दका दाई रहेकोसमेत जनाइएको छ।

‘आज राति १ बजे राजपुर गाउँपालिका–४ को नरेठाँट जंगलमा रहेको एक घरबाट बैठक गरिरहेको अवस्थामा केही केन्द्रीय सदस्यसहित २१ जनालाई पक्राउ गरिएको छ,’ डिएसपी शाहले डिसी नेपालसँग भने, ‘अहिले उनीहरुलाई सदरमुकाम ल्याउने काम भइरहेको छ।’

प्रहरीले २१ जना पक्राउ परेको पुष्टि गरेपनि विष्फोटक पदार्थ कति मात्रामा फेला परेको हो भन्ने विषयमा यकिन भइनसकेको जनाएको छ। अहिले उक्त ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका २१ जनालाई सदरमुकाम ल्याइँदैछ। उनीहरु कुन तहका नेता कार्यकर्ता हुन् भन्ने कुरा अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ। सरकारले गत फागुन २८ गते नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाएपछि ठूलो संख्यामा विप्लव समूहका नेता कार्यकर्ता पक्राउ परिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *