गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका मतदान जारी
काठमाडाैं। गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन जारी छ। बिहान १० बजेदेखि मतदान शुरु भएको सङ्घका प्रवक्ता भुषण घिमिरेले जानकारी दिए।
शुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिए तापनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको उनले जानकारी दिए। “बुधबार राति ९ बजेदेखि विद्युतीय मेसिनबाट मतदान हुने भनिएको थियो”, उनले भने, “तर विद्युतीय मेसिनमा दुवै पक्षको सहमती नजुटेपछि पुनः मतपत्र छापी आज मतदान शुरु गरिएको हो।”
निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन्। नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कूल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न छ ठाउँमा भइरहेको मतदान दिउँसो ४ बजेसम्म हुनेछ। निर्वाचनले दुई वर्षका लागि ४२ सदस्सीय कार्यसमिति चयन गर्नेछ।
निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका छन् । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका समापन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली सहभागी छन्।
Facebook Comment