श्रीलंकासँग लज्जास्पद हारपछि सरफराज अहमद कप्तानबाट हटाइए, यी हुन् नयाँ कप्तान

डिसी नेपाल
१ कार्तिक २०७६ १५:१५

काठमाडौं। आइसीसीको बरियतामा शीर्ष स्थानमा रहेको पाकिस्तानले कमजोर श्रीलंकासँग ३ टि–२० को सिरिज ३–० ले लज्जास्पद रुपमा हारेपछि यसको मूल्य पाकिस्तानका कप्तान सरफराज अहमदले चुकाउनुपरेको छ । ३२ वर्षीय सरफराजले कप्तानी गुमाउनुपरेको छ । यतिमात्र होइन विकेटकिपर ब्याट्सम्यान सरफराजलाई टि–२० र टेस्ट टिमबाटै बाहिर निकालिएको छ । पछिल्ला केही सिरिजमा उनको प्रदर्शनमा गिरावट आएको थियो ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले २०१९–२० सत्रको लागि विश्व टेस्ट च्याम्पियनशिपमा अजहर अलीलाई पाकिस्तानको राष्ट्रिय टिमको कप्तान बनाएको छ । टि–२० तर्फ आगामी २०२० मा अस्ट्रेलियामा हुने टि–२० विश्वकपसम्मका लागि बाबर आजमलाई कप्तान बनाइएको छ । पाकिस्तानले आगामी नोभेम्बर–डिसेम्बरमा अस्ट्रेलियामा २ टेस्ट र ३ टि–२० को सिरिज खेल्दैछ ।

पीसीबीले वनडेको लागि पनि कप्तानको घोषणा गरेको छैन । अन्य फरम्याटको लागि उपकप्तानको घोषणा पनि गरिएको छैन । सरफराजलाई वनडेको कप्तानबाट समेत हटाइने सम्भावना बलियो छ । बोर्डले एकदिवसीयको कप्तानको घोषणा नेदरल्याण्ड सिरिजअघि गर्ने जनाएको छ । पाकिस्तानले २०२० को जुलाइमा नेदरल्याण्डविरुद्ध ३ एकदिवसीयको सिरिज खेल्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *