बार्सिलोनाले गरेको आजीवन अनुबन्धको प्रस्ताव मेस्सीले किन अस्वीकार गरे ?
काठमाडौं। स्पेनिस क्लव बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले आफूलाई बार्सिलोनासँग बाँधेर राख्ने कुनै किसिमको सम्झौता आफूले नचाहेको बताएका छन् । मेस्सीले कुनै पनि सिजनको अन्त्यमा बार्सिलोना छाड्न सक्ने गरी क्लवले उनलाई छुट दिएको खबर बाहिरिएसँगै उनका धेरै फ्यानहरु त्रासमा भएका बेला मेस्सीको यस्तो अभिव्यक्ति बाहिर आएको हो । मेस्सीले आफू बार्सिलोनामा टाँसिएर बस्न नचाहेको प्रस्ट पारेका छन् ।
मेस्सीले आफू बार्सिलोनासँगै रहन चाहेको तर यहाँ केही हासिल गर्नको लागि क्लवले निरन्तर प्रयास गरिरहेको अवस्थामा मात्र आफू रहने प्रस्ट पारे । बार्सिलोनाले आन्द्रेस इनिएस्टासँग आजीवन अनुबन्धको सम्झौता गरेको प्रसंग उठाउँदै मेस्सीले आफू त्यसरी आजीवन बाँधिन नसक्ने प्रस्ट पारे । रेडियो मेट्रोको शो ‘पेरोस डे ला क्याले’लाई दिएको एक अन्तरवार्तामा मेस्सीले भने ‘मसँग पनि इनिएस्टासँगजस्तै सम्झौता गर्ने कुरा भएको थियो तर मैले प्रस्ट भनें म त्यस्तो कुनै सम्झौता चाहन्न जसले मलाई बाँधेर राखोस् । यदि म यहाँ खुसी छैन भने यहाँ रहन चाहन्न ।’
‘म प्रतिस्पर्धा गर्न, प्रदर्शन गर्न र लक्ष्यको लागि लडिरहन चाहन्छु तर मसँग सम्झौता छ भन्दैमा त्यसैको आडमा यहाँ बसिरहन चाहन्न’ मेस्सीले अगाडि भने ‘त्यसैले म त्यस्तो सम्झौता चाहन्न ।’
Facebook Comment