रोनाल्डोको कमाइको सबैभन्दा ठूलो माध्यम फुटबल होइन !

डिसी नेपाल
२ कार्तिक २०७६ १३:०२

काठमाडौं। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो पेशाले फुटबलर हुन् । उनी व्यवसायिक फुटबल खेलाडी भएकोले उनको कमाइको सबैभन्दा ठूलो हिस्सा फुटबलबाटै हुनुपर्ने अनुमान गरिन्छ । तर, वास्तविकतामा भने उनको कमाइको सबैभन्दा ठूलो हिस्सा फुटबलबाट नभइ अन्यत्रबाटै आउँछ । बज बिंगोका अनुसार रोनाल्डोले व्यवसायिक फुटबल खेलेर भन्दा इन्स्टाग्रामबाट धेरै कमाउँछन् ।

गत वर्ष रोनाल्डो इन्स्टाग्राममा विज्ञापनवापत सबैभन्दा धेरै लिनेहरुको सूचीमा एक नम्बरमा थिए । उनले सिरी ए क्लव युभेन्टसबाट वार्षिक ३० मिलियन युरो पाउँछन् तर उनले फोटो र भिडियो शेयरिङ एप इन्स्टाग्रामबाट वार्षिक ४३ मिलियन युरो कमाउँछन् । ‘रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएका व्यक्ति हुन् (१८६ मिलियन फलोअर) त्यसैले कम्पनीहरुले उनलाई प्रतिपोस्ट लगभग १ मिलियन डलर भुक्तानी दिन्छन्’ होपर एचक्यूकी मार्केटिङ एक्जिक्युटिभ निकोला क्रोनिनल बिजनेस इनसाइडरलाई भनिन् ।

रोनाल्डो इन्स्टाग्रामबाट कमाइ गर्ने मामिलामा लियोनेल मेस्सी, डेभिड ब्याकहेम, नेइमार र ज्लाटान इब्राहिमोभिचभन्दा अगाडि छन् । इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने खेलाडीमा यिनै ५ जना शीर्ष ५ मा छन् । रोनाल्डोले इन्स्टाग्रामबाट मेस्सीले भन्दा झण्डै दोब्बर कमाउँछन् । प्रतिपोस्ट ८ लाख ७५ हजार युरो लिएर उनले यस वर्ष ४९ पोस्ट गरेका छन् ।

इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने शीर्ष १० मा ६ जना खेलाडीहरु छन्, रोनाल्डिन्हो ९ औं स्थानमा छन् । फुटबल फिल्डमा जस्तै इन्स्टाग्राममा रोनाल्डो र मेस्सीले अग्रता लिइरहेका छन् । उनीहरुपछि केन्डल जेनर छिन् जसले प्रतिवर्ष १६ मिलियन युरो कमाउँछिन् । शीर्ष २० को सूचीमा रियल मड्रिडका एकमात्र खेलाडी ग्यारेथ बेल १३ औं स्थानमा छन् । उनले प्रतिवर्ष झण्डै १ मिलियन युरो कमाउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *