टि–२० विश्वकप छनोटः पपुवा न्यूगिनीले बनायो अनौठा र हाँसोलाग्दा कैयौं रेकर्ड

डिसी नेपाल
२ कार्तिक २०७६ १४:१४

काठमाडौं। टि–२० विश्वकप छनोट अन्तर्गत आज पपुवा न्यूगिनीले बर्मुडालाई १० विकेटले हराएको छ । बर्मुडाले पहिले ब्याटिङ गर्दै दिएको ९० रनको लक्ष्य पपुवा न्यूगिनीले १० ओभर २ बलमा कुनै विकेट नगुमाइ हासिल गर्यो । यो खेलमा निकै आश्चर्यलाग्दा र हाँसो उठ्ने खालका रेकर्डहरु बने । केही पपुवा न्यूगिनीले चाहेरै बनेका थिए भने केही रेकर्ड संयोगवश बने ।

खेलको पूरा स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खेलमा पपुवा न्यूगिनीले टि–२० अन्तर्राष्ट्रियको एक इनिङमा सबैभन्दा धेरै बलरहरुलाई बलिङ गराउने पहिलो टिमको रुपमा आफ्नो नाममा रेकर्ड बनायो । आजको खेलको पहिलो इनिङमा पपुवा न्यूगिनीका ९ जना खेलाडीले बलिङ गरेका थिए । टि–२० अन्तर्राष्ट्रियमा अहिलेसम्म कुनै पनि खेलमा एउटा इनिङमा ९ जना खेलाडीले बलिङ गरेका थिएनन् । एकदिवसीयमा भने ९ जना खेलाडीले बलिङ गरेका खेलहरु भएका छन् ।

टि–२० अन्तर्राष्ट्रियमा अहिलेसम्म सबैभन्दा धेरै खेलाडीले बलिङ गरेको रेकर्ड ८ जनाको छ । ८ जनाले बलिङ गरेका खेल भने १–२ पटक होइन २९ पटक भएका छन् । अहिलेसम्म भारत, क्यानडा, जिम्बाब्बे, वेष्ट इण्डिज, बंगलादेश, न्यूजिल्याण्ड, नेदरल्याण्ड, केन्या, अस्ट्रेलिया, ओमान, श्रीलंका, आयरल्याण्ड, स्पेन, पनामा, नर्वे, थाइल्याण्ड, कतार र चेक रिपब्लिकले ८ जना खेलाडीलाई बलिङ गराएका छन् । ९ जना खेलाडीलाई बलिङ गराउने पपुवा न्यूगिनी एकमात्र टिम हो ।

यही खेलमा अर्को रेकर्ड पनि बन्यो – टि २० अन्तर्राष्ट्रियको एउटै खेलमा सबैभन्दा धेरै बलरहरुले बलिङ गरेको रेकर्ड । यो खेलको दोस्रो इनिङमा बर्मुडाले पनि ७ जना खेलाडीहरुलाई बलिङ गराएपछि यो खेलमा कूल बलिङ गर्ने खेलाडीको संख्या १६ पुग्यो । अहिलेसम्म कुनै पनि एउटै टि–२० अन्तर्राष्ट्रिय खेलमा १६ जना बलरले बलिङ गरेका थिएनन् ।

बलिङ र ब्याटिङ गर्ने खेलाडीको अन्तरको अर्को रेकर्ड पनि यो खेलमा बनेको छ । पपुवा न्यूगिनीले यो खेलमा एउटा पनि विकेट नगुमाएपछि यो अनौठो रेकर्ड बनेको हो । यो खेलमा पपुवा न्यूगिनीका ९ जना बलरले बलिङ गरे तर ब्याटिङ भने २ जना खेलाडीहरुले मात्रै गरे । ब्याटिङ गर्ने खेलाडीको संख्या भन्दा बलिङ गर्ने खेलाडीको संख्या ७ जना धेरै भएको दुर्लभ रेकर्ड पनि यो खेलमा पपुवा न्यूगिनीको नाममै दर्ता भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *