म्याग्दीको जगन्नाथ–अन्नपूर्ण मन्दिर चन्दा सङ्कलनबाटै पुनःनिर्माण
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोत, जगन्नाथ–अन्नपूर्ण मन्दिर चन्दा सङ्कलनबाट पुनःनिर्माण भएको छ। स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट चन्दा जुटाएर पुनःनिर्माण भएको हो।
१६ औँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो। कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण गरेको पुनःनिर्माण समितिका अध्यक्ष तेजिन्द्र थापाले जानकारी दिए ।
“गुरुयोजनाअनुसार पहिलो चरणको निर्माण चन्दाबाट ग-यौँ”, उनले भने, “साढे दुई करोड लागत अनुमान गरिएको गुरुयोजना कार्यान्वयनका क्रममा रु ९० लाख खर्च भइसक्यो। चन्दा घोषणा भएको रकम सङ्कलन जारी छ।” पुरातत्व विभागबाट अनुमति लिएर उसले स्वीकृत गरेको डिजाइनअनुसार जीर्णोद्धार गरिएको हो।
मन्दिर पुनःनिर्माणका लागि अमेरिकामा रहेका रघुनाथ सुवेदीको पहलमा स्वदेश तथा विदेशमा चन्दा सङ्कलन अभियान सञ्चालन गरिएको हो। यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५० लाख र गाउँपालिकाबाट रु दश लाख विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
कोत परिसर घेराबार, उद्यान, प्रवेशद्वार, दृष्य अवलोकन केन्द्र बनाउने तयारी छ । ताकमदेखि कोत नजिकै सडक पुगेको छ । सडकदेखि उकालो भिरालो बाटोमा रेलिङसहितको १५० मिटर बढी पक्की सिँढीसहितको पदमार्ग निर्माण भएको छ।
“ताकमकोतलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने योजना छ”, उपाध्यक्ष छन्त्यालले भने, “ताकमकोत हुँदै मालिका–जलजला–ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन गर्दैछौँ ।” विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन्।
म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास रहेको पूजा व्यवस्थापन समितिका संयोजकसमेत रहेका वडाध्यक्ष कलानिधि सुवेदीले बताए ।
जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ।
समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ।
Facebook Comment