कप्तान रुबिनाको अर्धसतक, काठमाडौं प्ले अफमा

डिसी नेपाल
३ कार्तिक २०७६ १२:३७

काठमाडौं । क्याट क्विन्स काठमाडौंले वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै काठमाडौंले तेस्रो जित निकालेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १०६ रनको सामान्य लक्ष्य काठमाडौंले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरिन् । उनको यो दोस्रो अर्धशतक हो ।

यस्तै काठमाडौंको लागि रोमा थापाले १८ रन जोड्दा रश्मी चौलागाईले ९ र अप्सरी बेगमले अविजित ७ रन जोडिन् । ललितपुरकी सम्झना खड्का र अलिसा केसीले १–१ विकेट लिईन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको थियो । ललितपुरका लागि रोशनी बोहराले अविजित रहदै २९ रन जोडिन् । यस्तै नेरी थापाले २२ रन जोड्दा ममता चौधरीले १५ रन जोडिन् । गीता गोसाईले १३ रन बनाईन् । काठमाडौंकी ईश्वरी बिष्टले २ विकेट लिईन्। सरस्वती कुमारीको नाममा एक विकेट रह्यो ।

जितसँगै काठमाडौं प्रतियोगिताको प्ले अफमा पुगेको छ । काठमाडौंले ४ खेलमा ६ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *