सन्दिपले रोहितको तारिफ गरे, जवाफ आयो – ‘मुम्बइ जान चाहेको हो ?’
काठमाडौं। भारतीय ब्याट्सम्यान रोहित शर्माले आज टेस्ट क्रिकेटमा दोहोरो शतक बनाए । यससँगै उनले टेस्टमा २०० रन, एकदिवसीयमा २०० रन र टि–२० अन्तर्राष्ट्रियमा १०० रन पूरा गरे । रोहितको सफलतामा नेपाली स्पिनर सन्दिप लामिछानेले बधाइ दिँदै ट्वीट गरे । यसको प्रतिक्रियामा फ्यानहरुले उनलाई मुम्बइ जान चाहेको हो ? भनेर प्रश्न गरेका छन् ।
रोहित शर्मा इण्डियन प्रिमियर लिगमा मुम्बइ इण्डियन्सका कप्तान हुन् । सन्दिप पनि आइपिएलमा दिल्ली क्यापिटल्ससँग आबद्ध छन् । अहिले आइपिएलको ट्रान्सफर विन्डो खुला छ र यतिबेला क्लवहरुले अर्को क्लवका खेलाडी किन्न पाउँछन् । रोहित आइपिएलका सबैभन्दा सफल कप्तान पनि भएकोले सन्दिपलाई यस्तो सोधिएको हुन सक्छ ।
100 in T20I’s, 200 in ODI’s and now 200* In Test Cricket. What a player he is. Hats off @ImRo45 ?
— Sandeep Lamichhane (@IamSandeep25) October 20, 2019
आज दोहोरो शतक बनाएपछि रोहित टेस्ट र एकदिवसीयमा दोहोरो शतक तथा टि–२० अन्तर्राष्ट्रियमा समेत शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि यो सफलता वेष्ट इण्डिजका क्रिस गेलले मात्र पाएका छन् । एकदिवसीयमा अहिलेसम्म ८ पटक दोहोरो शतक बनेकोमा ३ दोहोरो शतक रोहितकै नाममा छ । बाँकी ५ शतक फरक फरक ५ खेलाडीले बनाएका छन् ।
रोहितसँगै भारतका सचिन तेन्दुलकर र वीरेन्द्र सहवाग, वेष्ट इण्डिजका क्रिस गेल, न्यूजिल्याण्डका मार्टिन गुप्टिल र पाकिस्तानका फखर जमांले मात्र दोहोरो शतक बनाएका छन् । यीमध्ये सचिन तेन्दुलकरले टेस्टमा २०० रन पूरा गरे पनि एकमात्र टि–२० अन्तर्राष्ट्रियमा १० रनमात्र बनाएका छन् । वीरेन्द्र सहवागले पनि टि–२० अन्तर्राष्ट्रियमा शतक बनाउन सकेका छैनन् । गुप्टिलले टि–२० अन्तर्राष्ट्रियमा शतक बनाए पनि टेस्टमा दोहोरो शतक बनाउन सकेका छैनन् । फखर जमांले टेस्ट र टि–२० अन्तर्राष्ट्रियमा शतक बनाउन सकेका छैनन् ।
Facebook Comment