आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी सुरु

डिसी नेपाल
४ कार्तिक २०७६ १४:५४

काठमाडौं। सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सुचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ।  राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सुचीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको हो।

सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि नेपाल आउने चाहना राष्ट्रपति समक्ष व्यक्त गरेकाले सरकारले सो भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको जानकारी दिए।

‘म्यानमारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रमोशन गर्न नेपाल आउने चाहना व्यक्त गर्नु भएको छ,’ संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, ‘हामीले सो भ्रमणका लागि प्रबन्ध मिलाउनेछौं।’ मन्त्री ज्ञवालीले उनको भ्रमणको मिति भने खुलाएनन्।

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको स्पष्ट पारे। उनले नेपालले कसैको दवावमा परेर कुनै पनि सन्धि/सम्झौता नगर्ने पनि पटक–पटक दोहोर्याए।

राष्ट्रको हितमा उपयुक्त हुने विषयमा मात्रै अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्ने मन्त्री ज्ञवालीको स्पष्टिकरण थियो। मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको मनमारको चार दिने राजकीय भ्रमण सफल भएको बताए।

राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई मुलुकबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान सम्बन्धि महत्वपूर्ण सम्झौता भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *