बाहिर आएजस्तो हामीबीच कुनै विवाद छैन : प्रचण्ड

डिसी नेपाल
५ कार्तिक २०७६ १३:१९

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली र आफूबीच बाहिर आएजस्तो कुनै विवाद नभएको दाबी गरेका छन्। मंगलबार पाँचथर जिल्लामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा भएका सहमति महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

उनले सहमति कार्यान्वयन नभएको भए अहिलेको ठाउँमा आइनपुग्ने उल्लेख गर्दै उनले भने–पार्टी एकता गर्दा भएका सहमति कार्यान्वयन नभएको भए आजको ठाउँमा आइ पुगिँदैन थियो। बाँकी सहमति पनि महाधिवेशन गर्ने बेलासम्ममा कार्यान्वयन भइसक्ने विश्वास लिएका छौं।’
उनले बाहिर चर्चा भएजस्तो आफूहरुबीच कुनै विवाद नभएको समेत दाबी गरे।

‘बाहिर आएको हल्लाका पछि नलाग्नुस्। हिजोमात्रै सम्माननीय प्रधानमन्त्री र मेराबीच दुई घण्टा लामो छलफल भयो। हामीले समग्र स्थितिका विषयमा छलफल गरेर नयाँ ढंगले अगाडि बढ्ने सहमति भएको छ।’

पछिल्लो समय ओली र प्रचण्डबीचको सम्बन्धमा चिसोपना बढेको चर्चा भइरहेका बेला प्रचण्डले त्यसलाई अस्वीकार गरेका हुन्।  सरकारको बचाउमा उभिएका प्रचण्डले सरकारले पहिलो वर्षलाई आधार वर्ष मानेको र अबका दिनमा विकास र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको दाबी गरे।

‘यो विगतको जस्तो परिवर्तन नभएर गुणात्मक परिवर्तन भएको छ। व्यवस्था नै परितर्वन भएपछि एक वर्षभित्र सरकारले संविधानले निर्दिष्ट गरेका ऐन, कानुन निर्माण गर्ने, तीन तहको सरकार बनेपछि नयाँ संरचना निर्माण गर्ने काम सफलतापूर्वक सम्पन्न गरेको छ,’ प्रचण्डले भने, ‘सरकारले नै पहिलो वर्षलाई आधार वर्ष मानेर अबका दिनमा विकास र समृद्धिलाई मुख्य लक्ष्य मानेर काम गरिरहेको छ।’

प्रचण्डले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउन सरकारले महत्वपूर्ण काम गरेको उल्लेख गर्दै चीनका राष्ट्रपतिको नेपाल भ्रमण अभूतपूर्व रहेको टिप्पणी दिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा पेट्रोलियम पाइप लाइनको उद्घाटन गरेको उल्लेख गर्दै उनले यसले भारतसँगको सम्बन्ध सुमधुर रहेको प्रमाणित भएको तर्क गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *