मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन नेता नेपालको सुझाव

डिसी नेपाल
५ कार्तिक २०७६ १९:२१

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकको आर्थिक समृद्धि र विकास नै अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउने मूल कसी भएकाले त्यसैमा केन्द्रित भएर अघि बढन सरकारको ध्यानाकर्षण गराए। उनले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण अत्यन्तै भएको उल्लेख गर्दै छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई बलियो बनाई राख्न सबै राजनीतिक दलहरुबीच समान धारणा बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले ‘सम्मानका साथ बाँच र बाँच्न देऊ’ भन्ने नीतिनै नेपालको परराष्ट्र नीति रहेको पनि स्पष्ट पारे। उनले मुलुकको आर्थिक विकास र समृद्धि अनुकूल हुने गरी सबै नीतिहरु तय गरेर अघि बढनुपर्नेमा पनि जोड दिए। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले मुलकुको विकास र समृद्धिको बाटोलाई झनै सुगम बनाएको पनि नेता नेपालको भनाई थियो।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै यसले नेपालको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई विकास गरेर मुलुकलाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले आधार तय गरि दिएको पनि बताए।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाललाई एक दशक अघि बढाउने गरी उपलब्धि हासिक गराएको दावी गरे । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल भएको र यसले मुलुकको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि बताए ।

मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको अन्तराष्ट्रिय प्रतिष्ठालाई पनि उचो बनाएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *