तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डको यू–२१ टिमसँग पराजित
काठमाडौं । थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले तेस्रो मैत्रीपूर्ण खेलमा हार व्यहोरेको छ । मंगलबार भएको तेस्रो खेलमा नेपाल थाइल्याण्डको यू–२१ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
नेपाललाई थाइल्याण्डको युथ टिमले २५–१८,२६–२४ र २५–२० ले पराजित गर्यो । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले यसअघिका दुई मैत्रीपूर्ण खेलमा जित निकालेको थियो ।
शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३–१ को सेटमा हराएको थियो । यस्तै आइतबार भएको दोस्रो खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ को सेटमा हराएको थियो । अब नेपालले बिहिबार जापानको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्डमा रहेका छन् ।
नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।
Facebook Comment