पर्यटकको बाटो कुर्दै नुवाकोटका पर्यटकीय गन्तव्य
काठमाडौं। चारैतिर मनमोहक दृश्य देखिने ठाउँ मध्येको एक हो नुवाकोट जिल्ला। हिमाल पहाड र तराईको भूभाग जस्तै देखिने नुवाकोट जिल्लाको बीच भागमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरू नै नुवाकोटको भौगोलिक विशेषता हो।
पुराना शैलीका घरहरु, पाटी पौवा, मठ मन्दिरले नै त्यो ठाउँको कला संस्कृतिको बारेमा मनन गर्न सकिन्छ। पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरेदेखि चर्चित भएको ठाउँ नुवाकोटमा त्यस्ता धार्मिक स्थल छन् जुन धार्मिक स्थलले अन्य ठाउँ भन्दा धेरै फरक पहिचान दिएका छन्।
नुवाकोटको परिचय
नुवाकोट जिल्ला नेपालको मानचित्रमा प्रदेश न. ३ अन्तर्गत रहेको एक मध्ये पहाडी जिल्ला हो। उत्तरमा रसुवा जिल्लाको सिमाना जोडिएको झण्डै अर्धचन्द्रकारको रुपमा पूर्व पश्चिम फैलिएर रहेको भौगोलिक बनावटमा पहाडी भू–भागको अंश ७१ प्रतिशत लेकाली भू–भागको अंश १८ प्रतिशत तथा टार, बेशी र समथर भू–भागको अंश ११ प्रतिशत रहेको छ।
समुन्द्री सतहबाट न्यूनतम ४५७ मिटरदेखि अधिकतम ५१४४ मिटर उचाईसम्म भू–धरातल रहेको छ । देश संघीयतामा गएपछि नुवाकोट जिल्लालाई १० गा.पा. र २ नगरपालिकामा विभाजन गरिएको छ। २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २,७८,७६१ र परिवार संख्या ६१,९५० रहेको छ । यो जिल्ला राजधानी देखि सदरमुकाम सम्म ६८ कि.मि.को दूरीमा छ।
नुवाकोटको चिनारी
झट्ट सुन्दा नुवाकोटको नाम। जो कोहीले पनि नौ वटा कोट मिलेरै भएको होला भन्ने बुझ्छन्। नुवाकोट जिल्लाको इतिहासमा पनि ९ वटा कोटहरु मिलेर बनेको बुझिन्छ ।
स–साना कोटहरुलाई एकैमा गाभेपछि नुवाकोट रहेको किम्बदन्ती छ। जिल्लाको बेलकोट, मालकोट, धुँवाकोट, भैमरकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङ कोट र प्यासकोटहरुलाई एकैमा गाभेर नुवाकोट राखिएको थियो।
गोपालवंशीको पालामा नुवाकोटलाई नगरकोट र नबकोट्य, नवक्वाथबाट अपभ्रंस हुँदै नुवाकोट भएको जानकारहरु बताउँछन्।
यी हुन् नुवाकोटका धार्मिक तथा पर्यटकीय स्थलहरु
ककनी
नुवाकोटमा ककनीको नामले चिनिएको क्षेत्र समुन्द्री सतहबाट करिब २०३० मिटरको उचाईमा छ। नुवाकोट जिल्लाकै थोरै रमणीय स्थान मध्येमा पर्ने ककनी सुन्दर ठाउँ मध्येको एक हो। यो ठाउँबाट जिल्लाकै लिखु फाँटलगायत थुप्रै होचा भूभागका साथै लाङटाङ, गौरीशंकर, मनास्लु, गणेश हिमाललगायत थुप्रै हिमश्रृखलाहरुको अवलोकन गर्न सकिन्छ।
सागरकुण्ड
सागरकुण्ड नुवाकोटको एक चर्चित ठाउँ हो। समुन्द्र सतहदेखि करिब २९१५ मिटरको उचाईमा पर्ने सागरकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। रसुवाको गोसाइकुण्ड जाने पदमार्गमा पर्ने यस कुण्डको पर्यटकीय आकर्षण भनेको ‘न त कतै पानीको श्रोत, नत कुनै निकास नै’ एकदम सुख्खा ठाउँ हो।
यो ठाउँको अवलोकन गर्न नुवाकोट पुगेको पर्यटक जो कोहीले पनि अवलोकन गरेर फर्किने गर्दछन्। यो ठाउँमा जनै पूर्णिमाको दिन गोसाइकुण्ड जान नसक्ने भक्तजनहरु यस सागरकुण्डमै बस्ने गर्दछन्। गोसाइकुण्ड र सागरकुण्डको महत्व एउटै भएको स्थानीयहरु बताउँछन्।
सूर्याचौर
नुवाकोट र काठमाडौंको सिमानामा पर्ने सूर्याचौर जिल्लाको शिवपुरी गाउँपालिकामा पर्ने गर्दछ। जिल्लाकै महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित यो ठाउँ अरु रमणीय ठाउँ भन्दा अग्लो स्थानमा छ।
विशाल घाँसे चौरमा बसेर हिमालका सुन्दर दृश्यहरु अवलोकनका लागि यस ठाउँ पर्यटकका लागि पनि गन्तव्य नै मानिएको छ। राजधानीसंग जोडिएको हुनाले नै दिनहुँ सयौं पर्यटकहरु यस ठाउँमा भ्रमण गर्छन
नुवाकोट दरवार क्षेत्र
तत्कालिन राजा पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय पश्चात आफ्नो एकीकरणलाई निरन्तरता दिने उद्देश्यले तत्कालिन राजा ललितपुरका कालिगढको सहयोगमा निर्माण गरेका विशाल नौतले दरवार देशकै अनुपम नमूना हो।
पछिल्लो समयमा पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिएको यो दरवार विस १९९० को महाभूकम्पपछि भत्केर यो दरवार ७ तलेको रुपमा चिनिएको छ। यस दरवार वरपर भक्तपुर राजाको दरवार, ललितपुरे राजाको दरवार, शीतलपाटी, कोतघरे जस्ता बिभिन्न दर्शनीय ठाउँहरु छन्।
यस क्षेत्रमा रहेको मल्लकालिन रङमहल दरवार पनि यस क्षेत्रको थप आकर्षण हो। थलीमा रहेको कारण यस दरवारबाट नुवाकोटको थुप्रै रमणीय फाँटहरु देख्न सकिन्छ। विस २०७२ मा आएको महाभूकम्पपछि क्षतिग्रस्त भएको यस दरवार र दरवार आसपासका ऐतिहासिक संरचनाको पूनर्निमाण चीन सरकारको सहयोगमा भइरहेको छ।
बेलकोटगढी
जिल्लाकै चर्चित ऐतिहासिक बेतकोटगढी नगरपालिका १० मा पर्ने यो क्षेत्र पर्यटकीय क्षेत्रको दृष्टिले महत्वपूर्ण मानिन्छ। जिल्ला सदरमुकामबाट करिब ३ कोष टाढा पर्ने बेतकोटगढीको चारैतिर ढुंगाको पर्खाल लगाई माथिल्लो भागको मध्य भागमा निरञ्जना भगवतीको मन्दिर अवस्थित रहेको छ। पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्य एकीकरण गर्दा विसं १८०१ मा नुवाकोट आक्रमण गर्न यो पर्खालको निर्माण गरेको जानकारहरु बताउँछन्।
होटल तथा पर्यटन व्यवसायी सन्तोष उप्रेतीका अनुसार पृथ्वीनारायण शाह र उनको सैन्य समूहले एक रातमा निर्माण गरेको र गढीमा प्रयोग भएका ढुंगा गढीबाट १ किलोमिटर टाढाबाट ल्याइएको किम्बदन्ती छ। पृथ्वीनारायण शाहले तत्कालिन बेदकोटका राजा जयन्त रानालाई काटेर सो ठाउँमा जयन्तको शरीरलाई सो क्षेत्रमै उनको सम्झना र चिरशान्तिको लागि राखिएको काठको मौलोमा पछिल्लो समय राँगो बाँधेर बली दिने गरेको छ।
दुप्चेश्वर महादेव
नुकाकोट जिल्लाकै चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा हेरिएको यो ठाउँ जिल्ला सदरमुकामबाट करिब ४० किलोमिटरको उत्तर पूर्वमा पर्दछ। यस मन्दिरमा दर्शन गरेपछि निसन्तानलाई सन्तान प्राप्ति हुने विश्वासका साथ बढी चर्चित भएको जानकारहरु बताउँछन।
यो मन्दिरमा हरेक वर्ष मंसिर पूर्णिमाको दिन विशाल मेला लाग्ने गर्दछ। यो ठाउँमा रातभर जाग्राम बसेर बत्ती बालेर भोलिपल्ट पुजाआजा गर्ने चलन रही आएको छ।
चिम्टेश्वर क्षेत्र
नुवाकोटका पर्यटकीय क्षेत्र मध्येको एक हो चिम्टेश्वर क्षेत्र। बेलकोटगढी नगरपालिकामा पर्ने साविकको बेलकोट जिलिङ, कुमरी र दुई पीपल गाविसलाई छोएको छ।
श्रीमहादेवले कालकुट विष सेवन गरी घुम्दै हिड्दा सो स्थानमा चिम्टा विर्सिएकोले यस महादेवका नाम चिम्टेश्वर रहन गएको किम्बदन्ती छ। शिवलिङ्ग चिरिएर रहेकोले यस महादेवलाई चिर्केश्वर महादेव पनि भनिन्छ। यो क्षेत्रमा महाशिवरात्री, तीजलगायतको समयमा ठूलो मेला लाग्ने गर्दछ।
भैरमकोट क्षेत्र
प्राकृतिक, धार्मिक एवं ऐतिहासिक रुपमै झल्किने भैरमकोटमा खिन्चेत भनेर चिनिने यो ठाउँ विदुर नगरपालिका ८ मा पर्ने गर्दछ। नुवाकोटबाट नेपाल एकीकरण सुरु गरेका पृथ्वीनारायण शाहले यसै स्थानका किल्ला स्थापना गरी नुवाकोट विजय गरेका थिए।
भैरवी मन्दिर
नुवाकोटको सदरमुकामबाट करिब ६ किलोमिटर उत्तरपूर्वमा पर्ने भैरव भैरवीको मन्दिर नुवाकोटकै प्रसिद्ध तीर्थस्थल हो। विंसं १७८३ मा राजा जगतजंग मल्लको पालामा निर्माण गरिएको यो मन्दिर तेलिया इटा र कलात्मक काठका तोरण र टुँडालहरु प्रयोग गरी निर्माण गरिएको हो ।
हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिनदेखि यस मन्दिर परिसरमा सिन्दुरे जात्रा हुने गर्दछ। सो जात्रामा धामी, धमिनी, रथसहित देबीघाटमा रहेको जाल्पादेबी मन्दिरसम्म पुग्ने गर्दछ र पुनः फर्काई नुवाकोट ल्याउने गर्दछ।
बेत्रावती (उत्तरगयाधाम)
वेत्रावती खोलाको किनारामा पर्ने यस धार्मिक स्थल तथा महत्वपूर्ण पर्यटकीय स्थल पनि हो। काशी गया र चारधाम जत्तिकै धार्मिक महत्व यस क्षेत्रमा पनि भएको जानकारहरु बताउँछन्।
बेत्रावतीमा पौष कृष्ण औंसीको दिनमा आफ्ना पितृहरुलाई श्राद्ध तर्पण दिनेहरुको घुँइचो लाग्ने गर्दछ। विसं १९४९ मा नेपाल र चीनबीचको युद्धपछि सन्धी यसै ठाउँमा भएकाले उक्त सन्धिलाई बेत्रावती सन्धी पनि भनिन्छ।
देबीघाट (जालपा मन्दिर)
नुवाकोटको चर्चित ठाउँ हो देवीघाट । तादी र त्रिशुली नदीको दोभानमा अवस्थित देबीघाट पृथ्वीनारायण शाहले आफ्नो अन्तिम दाहसंस्कार गर्नको लागि इच्छा देखाएको ठाउँ हो। पृथ्वीनारायण शाहले आफ्नो दाहसंस्कार यसै ठाउँमा गर्नु अनुरोध गरेको हुँदा उनको मृत्युपछि यसै ठाउँमा उनका आफन्तहरुले यसै ठाउँमा अन्तिम संस्कार गरिएको भन्ने किम्बदन्ती रहेको अध्यक्ष उप्रेतीले बताए।
देबीघाटमा पृथ्वीनारायण शाहको कलात्मक शालिक निर्माण गरिएको छ। यस ठाउँमा देबीघाट जालपादेबी मन्दिर पनि अवस्थित छ। चैत शुक्ल पूर्णिमाको दिन नुवाकोटको देबी भैरवको रथ यात्रा यस ठाउँमा पुग्ने गर्दछ।
राम मन्दिर
नुवाकोट र रसुवाको हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्रबिन्दु रहेको राम मन्दिर त्रिशुलीको भित्री बजारमा अवस्थित छ। विवाहलगायतका शुभकार्यहरु गर्नका लागि यो मन्दिर प्रसिद्ध छ। यस मन्दिरमा हरेक वर्ष चैत शुक्ल नवमीको दिन मर्यादा पूरुष श्रीरामको सम्झनामा बृहत मेला लाग्ने गरेको स्थानीय बताउँछन्।
नुवाकोटमा पर्यटक भित्र्याउन व्यवसायी उत्साहित
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नुवाकोटमा पनि विशेष तयारी भैरहेको छ। जिल्लामा सबै निकाय र होटल तथा पर्यटन व्यवसायी ३ नं प्रदेशले नुवाकोटमा २०२० मा आउने पर्यटक मध्ये १० प्रतिशत पर्यटक भित्र्याउने लक्ष्यका साथ तयारी गरेको जानकारी दिएको छ।
होटल तथा पर्यटन व्यवसायी संघ ३ नं प्रदेशका अध्यक्ष उप्रेतीले भने, ‘ नुवाकोटमा पर्यटक भित्र्याउन सरकारी तथा गैरसरकारी निकाय मिलेर पर्यटकको सुरक्षा तथा अन्य सबै प्रवन्धका लागि व्यापक तयारी गरिरहेका छौं।’
उनका अनुसार राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहद्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे÷चौबीसे भनिने ससाना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको ठाउँमा पर्यटकहरु सोचको भन्दा बढी भित्रिने छन्।
‘वि.सं.१८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, अमरसिंह जस्ता वीर योद्घाहरूले यस अभियानलाई अझै व्यापक बनाए।’ किम्बदन्ती रहेको कुरा उल्लेख गर्दै होटल तथा पर्यटन व्यवसायी संघ ३ नं प्रदेशका महासचिव दामोदर नेपालले भने, ‘भारतमा साम्राज्य फैलाईरहेका अंग्रेज शासकहरू यसबाट सशङ्कित बने। जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पूर्वमा मेची र पश्चिममा राप्ती र कर्णाली पारिका भू–भागहरू गुमाउनु परेको इतिहासमा उल्लेख गरिएको छ।’
महासचिव नेपालका अनुसार पर्यटन उद्योग वा पर्यटन व्यवसायसँगै होटल व्यवसाय पनि जोडिएर आउँछ । यो क्षेत्र बिना पर्यटन व्यवसायलाई विकास एवं विस्तार गर्न सकिँदैन । त्यसैले पर्यटन प्रवद्र्धनमा हाम्रो उपस्थिति महत्वपूर्ण छ ।
Facebook Comment