भाजपाको सिट घट्यो, काँग्रेसको बढ्यो

डिसी नेपाल
७ कार्तिक २०७६ १८:३३

नयाँ दिल्ली (एजेन्सी) । भारतका दुई राज्यको विधानसभा निर्वाचनको बिहीबार मतगणना सकिएको छ । मतगणनाको सत्तारुढ दल भाजापालाई झड्का लागेको छ । हरियाणमा भाजापाले सत्ता गुमाउने देखिएको छ । उता महाराष्ट्रमा भने भाजपा–शिवसेनाको गठबन्धनले बहुमत पाएको छ । यी दुबै राज्यमा हाल भाजापाकै सरकार थियो ।

हरियाणमा त्रिशंकु संसद बनेको छ । भाजापा नेता मुख्यमन्त्री मनोहर लाल खट्टरले बहुमत गुमाएपछि काँग्रेस आईले भुपेन्द्र सिंह हुड्डालाई सरकार निर्माणका लागि जस्तोसुकै निर्णय पनि गर्न छुट दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हरियाणामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएन । यद्यपी ९० सिट मध्ये ४० सिटमा जित हात पार्दै भाजापा सबैभन्दा ठूलो दल बनेको छ । तर, बहुमतका लागि ४६ सिट आवश्यक रहेकोमा उसले ६ सिटले बहुमत पुर्याउन सकेन । २०१५ को चुनावमा यहाँ भाजपाले ४७ सिट जितेको थियो। यहाँ भाजापालाई ७ सिट घाटा लागेको छ।

हरियाणमा गठबन्धन सरकारका लागि चहलपहल शुरु भएको छ । दोस्रो स्थानमा रहेको काँग्रेस आईले ३० सिट जितेको छ । यहाँ काँग्रेसले १६ सिट बढाएको छ । बहुमत पुर्याउन उसलाई १६ सिट आवश्यक छ । हरियाणामा नयाँ बनेको जननायक दलले जता सहयोग गर्छ उसकै सरकार बन्ने देखिएको छ । सो दलका नेता दूष्यन्त चौटालाले भाजपा र काँग्रेस दुबैसँग मोलमोलाई गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हरियाणा काँग्रेसका नेता पूर्व मुख्यमन्त्री दिपक हुड्डाले भाजापा विरोधी सबै दलहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । पार्टी अध्यक्ष सोनिया गान्धीले हरियाणामा भाजापालाई रोक्न जस्तोसुकै निर्णय लिने अधिकार हुड्डालाई दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उता जननायक पार्टीका नेता चौटालाले काँग्रेससँग मुख्यमन्त्री पद मागेको जनाइएको छ । तर, काँग्रेसले भने उपमुख्यमन्त्री दिन सकिने जवाफ दिएको बताइएको छ । जननायक पार्टीले १० सिटमा जित हात पारेको छ भने अन्य र निर्दलीय विधेयकको संख्या ९ रहेको छ । निर्दलीय मध्ये धेरैजसो काँग्रेस निकट रहेकोसमेत बताइएको छ । उता बहुमत गुमाएपछि मुख्यमन्त्री खट्टरलाई भाजापाले दिल्ली बोलाएको छ ।

उता २८८ सिट रहेको महाराष्ट्रमा भने भाजपा–शिवसेना गठबन्धनले काँग्रेस आई–राष्ट्रवादी काँग्रेस गठबन्धनलाई पाखा लगाउँदै सत्ता जोगाएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फण्डिवस फेरि दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्ने भएका छन् । भाजापा गठबन्धनले १५५ सिटमा जित हात पारेको छ । त्यहाँ बहुमतका लागि १४५ सिट आवश्यक थियो । यस्तै काँग्रेस गठबन्धनले १०९ सिट हात पारेको छ । काँग्रेस गठबन्धनले अघिल्लो चुनावभन्दा १६ सिट धेरै जितेको हो।

यहाँ भाजापाले २०१५ मा १२२ सिट जितेको थियो। भने शिवसेनाले ७६ सिट जितेको थियो। यो गठबन्धनलाई यो चुनावमा २६ सिट घाटा लागेको छ।
भाजपा गठबन्धनमा शिवसेना बलियो देखिएको छ । शिवसेनाले सत्ता साझेदारीमा बराबरी हुनुपर्ने बताएको छ । उसले आधा कार्यकाल आफुले सरकार चलाउनुपर्ने बताएको छ । शिवसेना नेता उद्धव ठाकरेले आधा आधोको सुत्रबाट आफु नझुक्ने बताएका छन् । तर, उनले पाँच वर्षसम्म भाजपा–शिवसेना गठबन्धनको सरकार हुनेसमेत बताएका छन् । यस्तै मुख्यमन्त्री देवेन्द्र फण्डिवसले भने शिवसेनासँग चुनाव अघि भएको सहमति अनुसार नै अगाडि बढ्ने बताएका छन् ।

महाराष्ट्रमा भाजापा विना पनि सरकार बन्ने अवस्था रहेकाले शिवसेना, काँग्रेस आई र राष्ट्रवादी काँग्रेसबीच गठबन्धनको पहल पनि हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै गुजरातमा भएको उपचुनावमा पनि भाजपालाई भड्का लागेको छ । ६ सिटका लागि भएको चुनावमा भाजपाले ५ सिट गुमाएको र काँग्रेसले जितेको जनाइएको छ । यस्तै उत्तर प्रदेशमा भएको उपनिर्वाचनमा पनि भाजपाले केही सिट गुमाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *