संघर्षपूर्ण जितसहित आर्सनल शिर्ष स्थानमा, पेपेको दुई गोल
एजेन्सी । युरोपा लिग फुटबलमा इन्ग्लिश क्लब आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब भिटोरिया स्पोर्ट्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा आर्सनलले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । आर्सनलको जितमा निकोलस पेपेले दुई गोल गरे । ग्राबियल मार्टिनेलीले एक गोल थपे । भिटोरियाका मार्कुस एडवार्ड र ब्रुनो दुआर्टेले एक एक गोल गरे ।
इमिरेट्स स्टेडियममा खेलको आठौं मिनेटमा मार्कुसले गोल गर्दै भिटोरियालाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।
खेलको ३६ औं मिनेटमा ब्रुनोले गोल गर्दै पुनः भिटोरियालाई २–१ को अग्रता दिलाए । त्यसपछि आर्सनलका पेपे नायक बने । खेलको ८० औं मिनेटमा पेपेले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा पेपेले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए ।
जितसँगै समूह एफ को आर्सनलले शतप्रतिशत जितलाई कायम राखेको छ । शिर्ष स्थानको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । ३ खेलमा ३ हार व्यहोरेको भिटोरिया पुछारमा रहेको छ ।
Facebook Comment