जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति रहेनन्, बिल गेट्सले उछिने

डिसी नेपाल
८ कार्तिक २०७६ १२:३८

काठमाडौं। अमेजनका संस्थापक र मुख्य कार्यकारी जेफ बेजोसले संसारको सबैभन्दा धनी व्यक्तिको उपाधि गुमाएका छन् । बिहीबारको कारोबार सकिएपछि बेजोसले संसारको सबैभन्दा धनी व्यक्तिको रुपमा आफ्नो स्थान गुमाएको फोर्ब्सले जनाएको छ । बिहीबारको कारोबारको क्रममा अमेजनको शेयरको मूल्यमा ७ प्रतिशतको गिरावट आयो । यो गिरावटका कारण बेजोसको सम्पत्ति १०३.९ अर्ब डलरमा झरेको छ ।

बेजोस संसारका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा झरेका छन् । पहिलो स्थानमा माइक्रोसफटका संस्थापक बिल गेट्स पुगेका छन् । बिल गेट्सको सम्पत्ति बिहीबारको कारोबार सकिँदासम्म १०५.७ बिलियन डलर रहेको छ । १८ जुलाइ २०१८ मा संसारको सबैभन्दा धनी व्यत्तिःको उपाधि हासिल गरेपछि बेजोस आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बनेका थिए । यस क्रममा उनको सम्पत्ति १६० अर्ब डलर पुगेको थियो । उनको कम्पनी अमेजनले उनलाई सफलताको शिखरमा पुर्याएको हो । जेफ बेजोसले १६ जुलाइ १९९५ मा अमेजनको स्थापना गरेका थिए । आज यो कम्पनी संसारको सबैभन्दा ठूला इकमर्स कम्पनीमध्ये एक हो ।

यद्यपि बेजोसको सम्पत्तिमा गिरावट आउनुको मुख्य कारण शेयर मूल्यमा आएको गिरावट भने होइन । बेजोसले आफ्नो अमेजनको कूल शेयरको एक चौथाइ आफ्नी पूर्वपत्नी म्याकेन्जी बेजोसलाई डिभोर्स सेटलमेन्टको रुपमा दिएका थिए । उनीहरुको सम्बन्धविच्छेद र म्याकेन्जीको नाममा शेयर स्थानान्तरणको काम यही वर्ष भएको थियो । म्याकेन्जी बेजोसको सम्पत्ति अहिले ३२.७ अर्ब डलर छ र उनी विश्वका सबैभन्दा धनी २० जनाको सूचीमा पर्छिन् ।

बिहीबार दिउँसो कारोबारी समयको तेस्रो चतुर्थांशमा अमेजनको कूल आम्दानीमा २६ प्रतिशत गिरावट रिपोर्ट गरिएको थियो । यो २०१७ देखि अमेजनको पहिलो घाटामा भएको कारोबार थियो । कारोबारी समयको अन्त्यसम्ममा अमेजनको शेयर मूल्य ९ प्रतिशतसम्म (१६२४ डलर प्रतिशेयर) घटेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *