भाडादर निर्धारण वैज्ञानिक बनाउन अध्ययन शुरु

डिसी नेपाल
८ कार्तिक २०७६ १४:५४

काठमाडाैं। सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारणलाई वैज्ञानिक बनाउन अध्ययन शुरु गरेको छ। अहिलेसम्म ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत जनशक्तिवापत लाग्ने खर्च र सवारीसाधनमा प्रयोग हुने उपकरणलगायतलाई आधार बनाएर भाडादर निर्धारण हुँदै आएकामा यही आधार ठीक हो–होइन भनी निक्र्यौल गर्न अध्ययन थालिएको यातायात व्यवस्था विभागले जनाएको छ।

एक दशक पहिलेदेखि शुरु भएको भाडादरको आधारमा पुनरावलोकन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनले भने, “केही महीनाभित्रमा त्यसको अध्ययन हुनेछ।”

अहिलेसम्म सरकारले १८सूचकलाई आधार बनाएर भाडा निर्धारण गर्दै आएको थियो। ती सूचकहरु बढ्न वा घट्न सक्ने उनको भनाइ थियो। भाडा निर्धारण सूचकमा पुनरावलोकन भएपछि मात्रै भाडा समायोजन गरिने महानिर्देशक हमालले बताए।

यातायात व्यवसायी महासङ्घले सरकारले समयसमयमा भाडा समायोजन गर्नुपर्नेमा जोड दिँदै आएको थियो। पेट्रोलियम पदार्थका मूल्यलाई आधार बनाएर भाडा समायोजन भए पनि सवारी साधनका उपकरण र जनशक्तिको सुविधाका आधारमा लामो समयसम्म भाडादर समायोजन हुननसकेको बताइएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *