उपनिर्वाचनका लागि ५४ मतदान केन्द्र, मुख्य निर्वाचन अधिकृत प्रधान

डिसी नेपाल
८ कार्तिक २०७६ २३:१०

काठमाडौं। जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा १ मा रिक्त रहेको प्रदेश सदस्यको निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारेको छ ।

कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले शुक्रबार यसबारे जानकारी दिँदै उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको यसक्षेत्रमा कूल २२ वटा मतदानस्थल र ५४ वटा मतदान केन्द्र निर्धारण गरेको जानकारी दिए।

यसक्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका छन् । विसं २०७४ को निर्वाचनभन्दा अहिले यस क्षेत्रमा ७४८ महिला र ७३६ पुरुष गरी कूल एक हजार ४८४ मतदाता थपिएको उनले बताए। निर्वाचनका लागि भक्तपुर जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधानलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको पनि उनले बताए।

विसं २०७४ मा भएको निर्वाचनमा निर्वाचित हरिशरण लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि दलहरुले निर्वाचनको तयारी र छलफललाई तीव्र पारिएको छ ।

आगामी मङ्सिर १४ गते देशभर ३७ जिल्लामा रिक्त पदहरुमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन र स्थानीय तहको प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *