म्यानमारसँग नेपालको बराबरी
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले म्यानमारको यू–२२ टिमसँग बराबरी खेलेको छ ।
कतारको दोहामा शुक्रबार राति भएको मैत्रीपूर्णमा नेपालले म्यानमारसँग २–२ गोलको बराबरी खेलेको हो । म्यानमारविरुद्ध दुई पटकको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाएको हो ।
नेपालले खेलको दोस्रो मिनेटमा अनन्त तामाङको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । कप्तान सुजल श्रेष्ठको कर्नरमा अनन्तले हेड गोल गरेका थिए ।
तर, खेलको ४० औं मिनेटमा म्यानमारका लिविन मोए अङले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पनि नेपालले अग्रता बनाएको थियो ।
खेलको ६० औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । रेजिन नवयुग श्रेष्ठको स्थानमा दोस्रो हाफमा मैदान छिरेका थिए ।
तर, खेलको ६४ औं मिनेटमा लिविनले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारलाई २–२ गोलको बराबरीमा ल्याउदै टिमलाई हारबाट जोगाए ।
म्यानमारविरुद्ध नेपाल साग टिममा रहेका मुख्य तीन खेलाडीविना मैदान उत्रिएको थियो । टोलीका किरण चेम्जोङ, रोहित चन्द र विमल घर्ति मगर कतार गएका छैनन् । तीनै खेलाडी विदेशमा क्लब फुटबलमा व्यस्त रहेका छन् ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिमले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलको हो ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।
Facebook Comment