थाईल्याण्डमा नेपाली महिला भलिबल टिम पराजित
काठमाडौं । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको राष्ट्रिय महिला भलिबल टिम पाँचौं मैत्रीपूर्ण खेलमा पराजित भएको छ।
शनिबार भएको खेलमा नेपाली टिम थाइल्याण्डको यू–१८ विश्व विद्यालय टिमसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
विश्व विद्यालयको च्याम्पियन समेत रहेको टिमले नेपाललाई २५–२०, २५–२२ र २५–१८ ले पराजित गर्यो ।
नेपाली टोलीको यो मैत्रीपूर्ण खेलमा दोस्रो हार हो । यस अघिका चार मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलमा जित निकालेको छ । अब नेपालले बुधबार थाइल्याण्डको राष्ट्रिय टिमसँग खेल्नेछ ।
हिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३–१ को सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ को सेटमा हराएको थियो ।
तेस्रो खेलमा नेपाल थाइल्याण्डको यु–२१ युथ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । यस्तै चौंथो खेलमा नेपालले जापानको जुनियर टिमलाई ३–१ को सेटमा हराएको थियो ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्डमा रहेका छन् ।
नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।
Facebook Comment