शिक्षा नीतिमा सुधार आवश्यकः अध्यक्ष प्रचण्ड

डिसी नेपाल
१० कार्तिक २०७६ ६:४९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि शिक्षा नीतिमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका–१५ तीनथानमा आज आयोजित ‘वडाध्यक्ष शौक्षिक विकास कोषको दोस्रो वार्षिक उत्सव तथा साधारणसभा’को उद्घाटन कार्यक्रममा उहाँले शिक्षामा बजेट पर्याप्त नभएकाले शिक्षाको नीतिमा आमूल सुधार गर्न नसकिएको बताए।

“हामीले देशको शिक्षा प्रणालीलाई वैज्ञानिक तवरबाट आयआर्जन र विकासमुखी बनाउनकै लागि शिक्षामा पर्याप्त लगानी आवश्यक छ, देशको विकास र सुधार शिक्षाबाटै हुन्छ, नीतिगत सुधार र बजेटमा सुधार गर्न सकिए देश आर्थिक समृद्धितर्फ उन्मुख हुने निश्चित छ,” अध्यक्ष दाहालले भने।

अध्यक्ष दाहालले विरोधीहरु पार्टी फुटाउन र नेताहरुबीच झगडा लगाउन हजार दाउ खोजिरहको भन्दै एकताको रक्षा गर्ने दायित्व नेता र कार्यकर्ताको साझा भएको उल्लेख गरे।

सत्तरी वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको उनको भनाइ थियो। प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्ने बताए।

“हामी आफैले ल्याएको व्यवस्थाको रक्षा र कार्यान्वयन गर्न गम्भीर हुनुपर्छ,” उनले भने । चन्द्रागिरि नगरपालिका–१५ का वडाध्यक्ष उत्तमबहादुर राउतले प्राप्त उपलब्धिलाई संस्थागत गर्न अगाडि बढ्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा विभिन्न विषयमा विद्यावारिधि गरेका १५ जना, एसइईमा उत्कृष्ट अङ्क ल्याउने तथा खेलकूदका माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *