३५ वर्ष पहिले बालिकाको शरीरमा लंगुर बाँदरको मुटु प्रत्यारोपण गरियो, त्यसपछि…
काठमाडौं। विज्ञानले कैयौं यता कामहरुलाई सम्भव बनाएको छ जसको बारेमा कसैले सोचेका थिएनन् होला । ३५ वर्ष पहिले सन् १९८४ मा एक बालिकाको शरीरमा लंगुरको मुटु प्रत्यारोपण गरिएको थियो । बालिकाको नाम फाय थियो । १४ अक्टोबर १९८४ मा एक बालिकाको जन्म भएको थियो जसको नाम स्टेफनी फे बेइक्वायर थियो, ती बालिकालाई फायको नामले चिनिन्छ ।
यी बालिकाको जन्म हाइपोप्लाष्टिक लेफ्ट हर्ट सिंड्रोमको साथमा भएको थियो जो एक दुर्लभ जन्मजात हृदयरोग हो । यो रोगका कारण मुटुको बायाँतर्फको भाग नराम्रोसँग अविकसित हुन्छ । यो रोगले बायाँ भेन्ट्रिकल, महाधमनी, महाधमनी भल्भ वा माइट्रल भल्भलाई प्रभावित गर्न सक्छ । जन्मको साथमै यस्तो स्थितिमा जन्मिने बच्चाहरु २ हप्ताभन्दा धेरै जीवित रहन सक्दैनन् । तर फायको छातीमा लंगुरको मुटु प्रत्यारोपण भएपछि उनी २ हप्ताभन्दा धेरै जीवित रहिन् । फायको अपरेशन भएको ३५ वर्ष भएको छ ।
डा. लियोनार्ड बेलीका अनुसार जो बच्चा यो समस्याको साथमा जन्मिन्छन् उनीहरु २ हप्तासम्म जीवित रहन्छन् । यस्तोमा बालिकालाई मुटु प्रत्यारोपण गर्न जरुरी थियो । फायकी आमासँग २ विकल्प थिए । या आफ्नी बच्चीलाई अस्पतालमा उपचारको लागि राख्थिन् या घरमा उनको मृत्युको प्रतिक्षा गर्थिन् । यतोमा डा बेलीको दिमागमा एक अर्को विकल्प चलिरहेको थियो ।
मुटुबाहेक फायको शरीर पूर्णरुपमा स्वस्थ थियो । डाक्टरले मानेका थिए कि मुटु प्रत्यारोपण गरेर बच्चीलाई बचाउन सकिन्छ । त्यसो त मानिसको मुटु अर्को मानिसमा प्रत्यारोपण गर्न १९६७ मै सुरु भइसकेको थियो तर फायको केसमा एउटै समस्या यही थियो कि यति सानी बालिकाको शरीरमा प्रत्यारोपण गर्ने सानो मुटु कहाँ पाउने ? अर्कोतर्फ त्यतिबेलासम्म कुनै पनि डाक्टरले बालबालिकाको मुटु प्रत्यारोपण गरेका थिएनन् ।
कार्डिएक सर्जन डा. बेलीको दिमागमा एक विकल्प चलिरहेको थियो । उनले बच्चीको शरीरमा मानिसको नभइ कुनै अन्य प्रजातिको मुटु प्रत्यारोपण गर्ने सोचिरहेका थिए । डा. बेलीले ७ वर्षसम्म क्यालिफोर्नियाको लोमा लिंडा विश्वविद्यालयको मेडिकल सेन्टरमा यही विषयमा अनुसन्धान गरेका थिए । ७ वर्षमा उनले अनुसन्धानको क्रममा भेडा, बाख्रा र लंगुरको १५० भन्दा धेरै मुटु प्रत्यारोपण गरेका थिए ।
१९६४ मा मानिसलाई जनावरको मुटु प्रत्यारोपण गरिएको थियो तर यो सर्जरी असफल भएको थियो र बिरामीको मृत्यु भएको थियो । त्यसपछि पनि केही अन्य प्रयास भएका थिए तर ती सबै असफल भएका थिए । यद्यपि डा. बेलीले फायको शरीरमा अन्य प्रजातिको मुटु प्रत्यारोपण गर्न अनुमति पाए । बेबी फाय १२ दिनकी थिइन् । उनको स्वास्थ्य बिग्रिन थाल्यो ।
त्यो दिन २६ अक्टोबर १९८४ थियो । सर्जनको टिमले मिलेर फायको शरीरमा लंगुरको मुटु प्रत्यारोपण गर्ने निर्णय गरे । अपरेशन सुरु भयो र डाक्टरको टिमले एक अद्भूत चीज देखे । फायको हरीरमा प्रत्यारोपण गरिएको लंगुरको मुटु धड्किन थाल्यो । सर्जन र मानिसहरुको लागि यो कुनै चमत्कार भन्दा कम थिएन । रातारात बेबी फायले मिडियामा चर्चा बटुलिन् । मानिसहरुले बच्चीको सुस्वास्थ्यको कामना गर्न थाले ।
तर, यो खुसी धेरै दिन टिकेन । मुटु प्रत्यारोपणपछि सुरुवातका दिनमा बेबी फायको स्वास्थ्यमा निरन्तर सुधार हुँदै गयो । तर, प्रत्यारोपणको १४ औं दिनपछि उनको हालत बिग्रिँदै गयो र १५ नोभेम्बर १९८४ मा बेबी फायले सदाका लागि संसारबाट विदा लिइन् । यो मुटु प्रत्यारोपणले संसारको ध्यान तानेको थियो र मेडिकलको दुनियामा इतिहास बन्यो । यो पहिलो घटना थियो जब मनुष्यलाई कुनै जनावरको मुटु दिइयो र केही समय जीवित पनि राख्न सकियो ।
Facebook Comment