‘कन्टेरनमा ३९ जना आप्रवासीहरु छन् भन्ने लरी ड्राइभरलाई थाहै थिएन’

डिसी नेपाल
१० कार्तिक २०७६ १४:५४

काठमाडौं। बेलायतमा एक कन्टेनरभित्र ३९ जनाले ज्यान गुमाएको घटनामा त्यो लरी चलाउने ड्राइभरलाई आफ्नो लरीमा लोड गरिएको कन्टेनरमा ३९ जना आप्रवासीहरु भएको थाहै नभएको उनका एक साथीले दावी गरेका छन् । बेलायती मिडिया द मिररको रिपोर्ट अनुसार कागजी कारवाहीको जाँचको लागि गएका ती ड्राइभरले कन्टेनरभित्र ३९ जनाको शव देख्दा निकै भयभित भएको ती साथीले दावी गरेका हुन् । ती साथीको पहिचान खुलाइएको छैन ।

साथीका अनुसार २५ वर्षका मो रबिन्सन नामका ती ड्राइभरले चिसिएको कन्टेनरभित्र पीडितहरुलाई भेटेपछि आफैं अलार्म बजाएका थिए । उत्तरी आउरल्याण्डको पोर्टाडाउनका रबिन्सनलाई एसेक्स पुलिसले ती आप्रवासीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ र सोमबार अदालत पेश गर्दैछ । बेल्जियमबाट पानीजहाजमा आएको कन्टेनरलाई थमेस नदीमा रहेको एक बन्दरगाहबाट रबिन्सनले चलाएर लिएर हिँडेका थिए ।

एक साथीले रबिन्सन निर्दोष भएको दावी गरेका छन् । डेलिमेलसँग कुरा गर्दै ती साथीले भने ‘रबिन्सनलाई ती मानिसहरु पछाडि छन् भन्ने थाहै थिएन । देखिएअनुसार उनले लरीलाई एसेक्समा एउटा औद्योगिक क्षेत्रमा पार्क गरे, खल्तीबाट कागजपत्र निकाले र कागजी प्रक्रियाका लागि पछाडि गए । जब उनले कन्टेनर खोले र सबै शरीरहरु देखे उनी निश्चित रुपमा भयभित थिए, जसरी त्यो स्थितिमा जो कोही आत्तिन सक्छ । त्यसपछि उनले एम्बुलेन्स बोलाए जसले पुलिसलाई खबर गर्यो ।’

एक प्रत्यक्षदर्शीका अनुसार ती आइरिस ड्राइभर रेफ्रिजेरेटर युनिट खोलेर भित्र शरीरहरु भेट्टाउँदा निकै आत्तिएका थिए । द इभिनिङ स्ट्याण्डर्डको रिपोर्टमा उल्लेख भएका यी प्रत्यक्षदर्शीको कुराको पुष्टि भने हुन सकेको छैन । टेलिग्राफले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार रबिन्सनलाई ती आप्रवासीहरुलाई बेलायत तस्करी गर्ने योजनाबारे जानकारी हुन सम्भव देखिँदैन । रिपोर्टमा दावी गरिएअनुसार पुलिसले तस्करीको नेटवर्कमा रहेका अर्का आइरिस व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

छिमेकीहरुले आइरिस मिडियालाई बताएअनुसार रबिन्सनका मातापिताले आयरल्याण्डको लौरेलभालेमा रहेको घर छाडिसकेका छन् र आफ्नो छोरालाई समर्थन गर्न इङल्याण्ड गइसकेका छन् । रबिन्सनका मातापितालाई चिनेका स्थानीय काउन्सिलर पल बेरीका अनुसार रबिन्सनका पिताले छोराको बारेमा सामाजिक संजालबाट थाहा पाएका थिए । ३१ पुरुष र ८ महिलाको शव बुधबार बिहानै ग्रेजको औद्योगिक क्षेत्रमा भेटिएको थियो । शवहरु जमेका थिए र बताइएअनुसार भित्रको तापक्रम माइनस २५ डिग्री सेल्सियससम्म झरेको थियो ।

रबिन्सनले पोलार एक्सप्रेस भनिने आफ्नो लरीमा लोड गरिएको बन्टेनर आप्रवासीहरुको शव भेटिनुभन्दा २ घण्टा पहिले उठाएको विश्वास गरिएको छ । यो कन्टेनर बेल्जियमको जीब्रगबाट थमेस नदी हुँदै एक सामान ढुवानी सेवाले इङल्याण्ड पठाएको थियो । बेल्जियमका अधिकारीका अनुसार कन्टेनर स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर ४९ मिनेट जाँदा जीब्रग आइपुगेको थियो । त्यसपछि बेल्जियमको बन्दरगाहतर्फ पठाइएको थियो ।

यो कन्टेनर एसेक्सको बन्दरगाहमा बुधबार राती साढे १२ बजे आइपुगेको थियो । त्यसको ३५ मिनेटपछि लरीले कन्टेनर लिएर हिँडेको थियो । यो लरीको दर्ता बुल्गेरियामा भएको छ । बुल्गेरियाको विदेश मन्त्रालयका अनुसार यो लरी बुल्गेरियाको भार्नामा एक आइरिस नागरिकको स्वामित्वमा रहेको कम्पनीको नाममा दर्ता भएको छ । बेल्जियम सरकारले यसको जाँचको लागि आफ्नै अनुसन्धान टिम गठन गरेको छ । यो टिमले यो लरीको यात्रा कहाँबाट सुरु भएको थियो र यो देशमा कति समय रह्यो भन्ने पत्ता लगाउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *