निर्मला पन्त हत्या प्रकरण : गृहमन्त्री थापाको छोराको डीएनए परीक्षण गर्न तरुण दलको माग

डिसी नेपाल
१० कार्तिक २०७६ १६:५५

काठमाडौं। नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग गरेका छन्।

कञ्चनपुरकी बालिका पन्तको हत्यारा अझै पनि पत्ता नलागिरहेका बेला प्रमुख प्रतिपक्ष दल काँग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष बस्नेतले सो हत्याकाण्डका तथ्य बाहिर ल्याउन गृहमन्त्री थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग गरेका हुन्।

तरुण दलको ६६ औं स्थापना दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृहमन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डीएनए परीक्षण गरौं भन्ने आफूले आग्रह गरेको बताए। उनले भने, ‘तपाईँको छोरामाथि बालिका पन्तलाई बलात्कार गरेको आरोप लागेको छ, मलाई गलत सावित गरिदिनुस् तरुण दललाई गलत सावित गरिदिनुस्, त्यसका लागि डीएनए परीक्षण गरौं भन्ने मेरो कुरा हो ।’

२०७५ साल साउन १० गते बालिका पन्तको बलात्कार पछि हत्या गरिएको अवस्था शव भेटिएको थियो । तर त्यसको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन । अध्यक्ष बस्नेतले पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा निर्मला हत्याकाण्डको तथ्य पत्ता लगाउन आफूले पटकपटक गृहमन्त्री थापाको छोराको डीएनए परीक्षणको माग गर्दै आएको पनि बताए।

अध्यक्ष बस्नेतले २०३६ सालमा हत्या गरिएकी नमिता–सुमिता हत्याकाण्डको पनि आफ्नो संगठनहरुले पर्दाफास गर्ने बताए। दरबारीयाहरुले ती दुई नारीको हत्या गरेपनि त्यतिबेला नेपाल तरुण दल नभएकाले सो हत्यामा संलग्नहरु सार्वजनिक हुन नसकेको उनको दावी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *