अमेरिकी मिडियाको दावी – इस्लामिक स्टेटका ‘प्रमुख’ मारिएका छैनन्
काठमाडौं। अमेरिकी सेनाले सिरियामा शनिबार र आइतबार लगातार गरेको अपरेशनमा इस्लामिक स्टेटका प्रमुख भनिएका अबु बकर अल बगदादी र प्रवक्ता अबु अल हसन अल मुहाजिर मारिएका छन् । तर, एक अमेरिकी मिडियाका अनुसार इस्लामिक स्टेटका प्रमुख मारिएका छैनन् किनकि अहिले बगदादी संगठनका प्रमुख नै थिएनन् । अमेरिकी मिडिया न्यूजविकका अनुसार बगदादीले गएको अगष्टमै आफ्नो पद त्यागिसकेका थिए र उनले नै इस्लामिक स्टेटका नयाँ प्रमुख नियुक्त गरेका थिए ।
हाजि अब्दुल्लाह अल अफारी भनिने अब्दुल्लाह कारदाशलाई बगदादीले इस्लामिक स्टेटको प्रमुख नियुक्त गरिसकेको इस्लामिक स्टेट सम्बद्ध एक स्रोतको हवाला दिँदै रिपोर्टमा दावी गरिएको छ । इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनको कार्यकालमा इराकी सेनामा रहेका एक अधिकारीको हवाला दिँदै रिपोर्टमा भनिएअनुसार अहिले इस्लामिक स्टेटलाई अब्दुल्लाहले नै नेतृत्व गरिरहेका छन् । अमेरिकी सेनाको डेल्टा टिमको अपरेशनको क्रममा बगदादीले आत्मघाती बम विष्फोट गराएर आत्महत्या गरेका थिए ।
ती अधिकारीका अनुसार बगदादीले अल कायदाको इराकी शाखासँग विद्रोह गरेर इस्लामिक स्टेटको गठन गरेको भए पनि पछिल्लो समय उनको भूमिका सांकेतिक मात्र थियो । ‘बगदादी देखाइने अनुहार मात्रै थिए र उनी दैनिक अपरेशनमा सहभागी थिएनन्’ ती अधिकारीले भने ‘बगदादीले कुनै योजना बनाउँदैनथे, उनले मात्रै हुन्छ वा हुँदैन भन्थे ।’
Facebook Comment