खुमनको त्यो तिहार, आफ्नै कमाईले दिदीलाई रुमाल उपहार

डिसी नेपाल
१२ कार्तिक २०७६ १०:१९

काठमाडौं। लोकदोहोरी गायक खुमन अधिकारीलाई चाडपर्वमा विशेष लगाव छ। त्यसैले त दशैं, तिहारमा उनी जन्मघर स्याङजा पुग्छन्। आज तिहारको अन्तिम दिन भाइटीका। सायद खुमन टीकाको तयारीमा होलान्।

खुमनको दुई दिदी र एक दाइ छन्। उनले दुई दिदीको हातबाट टीका लगाउनेछन्। उनले केही दिनअघि तिहारसंग जोडिएका केही किस्सा डिसी नेपाललाई सुनाएका थिए।

किस्सा सुनाउनुअघि अनुहारमा तिहारको रोमाञ्चकता झल्काउँदै भनेका थिए, –‘तिहार असाध्यै मनपर्छ। देउसीभैलो, जताततै झिलिमिली, भाइटीका, दिदीबहिनीको आशिर्वाद, माला, पिङ, पटका, खानपानमा रमाउँछु।’ उनका तिहारका केही किस्सा उनकै शब्दमा प्रस्तुत गरिएको छ।

तिहार र मेरो सम्बन्ध नङ र मासुकोजस्तै
तिहार मेरो असाध्यै प्रिय चार्ड हो। तिहार र मेरो सम्बन्ध पनि नङ र मासुको जस्तै लाग्छ। त्यसो भन्नुमा एउटा कारण देउसीभैलो पनि हो। सानोमा गाउँमा देउसीभैलो खुबै खेल्थेँ। देउसीको लिडर नै म हुन्थे। भट्याउनमा अगाडी थिए। लय हालेर भट्याउँथे। राति अबेरसम्म देउसीभैलोमा हिँडथेँ।

सानोमा खुमन अधिकारीले भट्याएजस्ता अरुले हुँदैन भन्ने भन्थे। धेरै हद्सम्म मलाई गायक बनाउनमा एउटा ख्डकिलो नै देउसीभैलो जस्तो लाग्छ। पछि काठमाडौं आएपछि विस्तारै व्यस्त बनियो। पछिल्ला वर्ष प्रतिष्ठानको देउसीभैलोमा प्राय सहभागी हुँदै आएको छु। गाउँमा पनि मिलेसम्म टीकाको दिन सबैसंग देउसी खेल्छु।

गाउँमै रमाउन चाहान्छु
दशैं, तिहार म प्रायः गाउँमा मनाउँछु। केही वर्षअघि दशैंको दिन कार्यक्रमको लागि कतारमा पुगेको थिए। त्यहाँ रमाईलो त थियो। तर मलाई घर, परिवारको यादले सतायो। त्यसपछि मैले दशैं तिहारको समयमा कार्यक्रमको लागि विदेश जाँदिन भन्ने सोँचे। म दशैं, तिहार गाउँमै रमाउन चाहान्छुु। र हरेक वर्ष यी चार्डमा गाउँ पुगेको हुन्छु।

खानपानको सौखिन
म खानपानमा असाध्यै सौखिन छु। माछामासु त भैहाल्यो। तिहारका मिठामिठा परिकार खान रुचाउँछु। मैले तिहारका परिकार बनाउन आमा, दिदीहरुलाई साथ पनि दिन्छु।

सेलरोटी, अनरसा, फिनी, झिनिया, बटुक, फुरौला आदी परिकार धेरैपटक बनाएको पनि छु।

मलाई उखुँ पेलेर बनाएको रसमा पकाएको अनरसा विशेष मनपर्छ। तिहार सकिएपछि पनि धेरैपटक अनरसा पठाइदिन भनेको छु।

तास खेल्न आउँदैन्
तिहारमा कतिपय साथिभाईहरु तासमा रमाईरहेका हुन्छन्। तर मलाई तास खेल्नमा कहिल्यै रुचि लागेन्। साथिभाईले कर गर्दा पनि रुचि लागेन्। अहिले पनि मलाई तास खेलेको नाम थाहा छैन्। सानोमा खोडखोडे भन्ने खेलिन्थ्यो, अहिले त्यो पनि खेलिँदैन्।

त्यो वर्ष नरमाईलो लाग्यो
काठमाडौं आइसकेपछि शुरुवाती दिनमा एकवर्ष तिहारमा गाउँ जान पाइन्। त्यतिबेला बाध्यता पनि थियो। दोहोरी साँझमा काम गर्थेँ। त्यहाँबाट छुट्टी पाइन्। त्यो वर्षको तिहार काठमाडौंमै विताए। साह्रै नरमाईलो लागेको थियो।

पहिलो उपहार रुमाल
तिहारमा दिदीहरुलाई कहिल्यै उपहार नदिने म। दक्षिणा पनि बुवाबाट मागेर दिन्थेँ। काठमाडौं आएर दोहोरी साँझमा काम गरेको थिए। त्यसवर्षको तिहारमा आफ्नै कमाईको पैसाले दिदीलाई दक्षिणा र उपहार दिए। उपहार रुमाल दिएको थिए। बुवासंग पैसा माग्न नपर्दाको त्यो क्षण मेरा लागि असाध्यै खुसीको थियो।

यसवर्ष दुई तिहार गीत
मैले हरेक वर्ष तिहार गीत गाउँदै आएको छु। र स्रोता दर्शकले रुचाउँदै पनि आउनुभएको छ। यसवर्ष पनि दुईवटा तिहार गीत गाएँ। ‘तिहारमा गाइन्छ नाचिन्छ’, ‘आगनमा भलैनी भाग ६’ यसवर्ष गाएका तिहार गीत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *