इरानकी सुन्दरीले आफ्नो देशमा हत्या हुन सक्ने भन्दै फिलिपिन्समा शरण मागिन्
काठमाडौं। इरानकी सुन्दरी बहरे जार बहरीले इरान फर्किएमा आफ्नो हत्या हुनसक्ने भन्दै फिलिपिन्समै शरण मागेकी छिन्। उनी विरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएपछि दुई सातादेखि मनिला विमानस्थलको अध्यायगमनकै नियन्त्रणमा छिन्। ‘इन्टरकन्टिनेन्टल’ प्रतियोगितामा भाग लिएर फर्किने क्रममा उनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको हो।
अघिल्लो वर्ष उनले इरानमा राष्ट्रियस्तरको सुन्दरी प्रतियोगिता जितेकी थिइन्। सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई इरान सरकारले ‘चुप’ लगाउन खोजेको उनले बताएकी छिन्।
एक साताअघि फिलिपिन्सको अध्यायगमन विभागले एक प्रेस विज्ञप्ती निकालेर इन्टरपोलले रेड नोटिस् जारी गरेर उनलाई पक्राउ गर्नका लागि विश्वव्यापी आग्रह गरेको जनाएको थियो। विज्ञप्तीमा कुन देशले उनलाई रेड कर्नर नोटिसका लागि आग्रह गरेको हो भन्नेबारेमा खुलाइएको छैन। तर, बहरेले भनेकी छिन् ‘त्यो इरान सरकारकै आदेशमा भएको हो।’
‘म २०१४देखि नै यहीँ बसिरहेकी छु र, फेरि म इरान गएको पनि छैन, मैले यो कुरा उनीहरुलाई पटकपटक भनिसकेकी छु’ उनले भनेकी छिन् ‘अनि म कसरी इरानको त्यो आपराधिक मुद्दामा संलग्न हुनसक्छु, जबकि म यहीँ नै छु?
१२ दिनअघि दुबईबाट त्यहाँ ओर्लिनासाथ यात्रु कक्षबाटै उनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो। ‘मलाई धेरै मानसिक तनाव भएको छ’ उनले भनेकी छिन्। बहरेका अनुसार उनलाई इरानका निर्वासित राजकुमार रेजा पहलवीको समर्थन गरेको आरोप छ। १९७९को क्रान्तिपछि इरानी राजकुमार निर्वासनमा जानुपरेको थियो।
हालैको एउटा प्रतियोगितामा उनले निर्वासित राजकुमार पहलवी र पूर्व राजतन्त्रको झल्को दिने चित्र भएको एउटा झन्डा प्रयोग गरेकी थिइन्। तर, यसलाई उनले ‘आफ्ना नागरिकहरुको आवाज मुखरित गरेको’ भनेकी छिन्।
अनि उनलाई लाग्छ कि इरानमा उनको सामाजिक अभियानका लागि पनि उनलाई निशाना बनाइएको हुनसक्छ। किनकि उनले इरानमा महिला तथा बालिकाहरुको पक्षमा अभियान चलाएकी छिन्।
‘उनीहरु कुनै बस्तु होइनन्, कुनै खेलौना होइनन, उनीहरु पनि मानव हुन् र उनीहरुलाई पनि केटाहरुसरह अधिकार हुनुपर्छ’ उनले भनेकी छिन्।
३१ वर्षीया बहरे दन्त चिकित्साकी विद्यार्थी हुन्। मोडलिङमा सक्रिय उनले इरानमा महिला अधिकारसम्बन्धि अभियानहरु पनि चलाउँदै आएकी छिन्। उनी २०१४देखि फिलिफिन्स बसेर अध्ययन गर्दै आएकी छिन्।
इरान सरकारले उनलाई पुराना केही आपराधिक मुद्दाहरुको आरोपमा गिरफ्तार गर्न खोजिएको जनाएको छ। तर, बहरेले भने आफूलाई ‘महिला अधिकार’को आवाज उठाएका कारण मार्न खोजिएको आरोप लगाएकी छिन्।
Facebook Comment