पूर्वराजाको चेतावनीः परिवर्तनकारी शक्तिहरु नै अप्ठयारोमा पर्न सक्छन्

डिसी नेपाल
१२ कार्तिक २०७६ १३:१९

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अप्ठयारोमा पर्न सक्ने चेतावनी दिएका छन् ।

पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै सो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ताहरु आफैं अप्ठयारोमा पर्ने बताएका हुन् ।
मंगलबार काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने त्यस्तो परिवर्तनको कुनै अर्थ नहुने बताए ।

‘हेर्नुस् जुनसुकै परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुुनुपर्दछ, एउटा प्रगति अर्को विकास,’ पूर्वराजा शाहको भनाइ थियो, ‘यी दुईटा कुरालाई मनन् गरेनन् र बुझेनन् भने परिवर्तनको अर्थ हुँदैन, र परिवर्तनकर्तालाई अप्ठयारो पर्न सक्छ ।’

पूर्व राजा शाहले त्यस अवसरमा आज भाइटीकाको दिन कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना व्यक्त गरे ।

पूर्वराजा शाहले आफूलाई लक्ष्मी पूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना भएको स्मरण गराउँदै उनले भने झैं ‘अरुको सुःखका लागि आफैलाई मेटाउन सक्ने’ शक्ति सबैलाई प्राप्त भएको हेर्न चाहेको बताए ।

‘सबै नेपालीले सुःख र शान्तिका साथ बस्न पाउन, तिहारको अवसरमा मेरा यही शुभकामना छ,’पूर्वराजा शाहको भनाइ थियो । सो अघि पूर्वराजा शाहले आफ्नी बहिनीको हातबाट तिहारको टिका लगाएका थिए ।

शाहले १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । उनले भाईटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि त्यसअघि नै टीका लगाएका हुन् । पूर्वराजा शाह टीका लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *