कश्मीरमा कम्तिमा ५ जना मजदुर मारिए

डिसी नेपाल
१३ कार्तिक २०७६ १६:२१

नयाँ दिल्ली (बीबीसी)। भारत प्रशासित कश्मीरमा सन्दिग्ध पृथकतावादी विद्रोहीहरूले कम्तीमा पाँच जना निर्माण मजदुरहरूलाई गोली हानी मारिदिएको प्रहरीले बताएको छ। ती मजदुर पश्चिम बङ्गाल राज्यका थिए।

कुलगाम जिल्लाको कातरसु गाउँमा मङ्गलवार चरमपन्थीहरूले तिनको हत्या गरिदिएको जम्मु–कश्मीर प्रहरीले जानकारी दिएको छ।

बीबीसी संवाददाता रियाज मसरुरका अनुसार उनीहरूको हत्या राति करिब ९ बजे भएको थियो।

उनी भन्छन्, ‘कश्मीरमा लगाइएका नियन्त्रण केही खुकुलो पार्दै लगिएको थियो। पुलिसले पनि आफ्नो सचेत गराउने सूचना हटाएको थियो। यस्तो स्थितिमा यहाँ पर्यटन त बढेको थिएन तर मजदुरहरू भने जीविकोपार्जनका निम्ति विस्तारै कश्मीर फर्कँदै थिए। अहिलेको समयमा भारतका विभिन्न ठाउँबाट कश्मीरका स्याउ बगैँचा तथा अन्यत्र काम गर्न मजदुर आउने गर्छन्।’

मसरुरका अनुसार हत्या गरिएका सबै पाँचजना मजदुर कातरसु गाउँमा एउटा भाडाको घरमा बस्थे। प्रहरीको भनाइ छ कि सो घरमा सन्दिग्ध बन्दूकधारी घुसे, तिनलाई बाहिर निकाले र गोली हाने।

सो हमलामा एकजना घाइते छन्। केही समय यता कश्मीरमा बाहिरबाट आएर बसेका मानिसहरूविरुद्ध हमलाको सिलसिला बढेको छ। हमलाको निशानामा खासगरि ट्रक ड्राइभर तथा मजदुर छन्।

युरोपेली सांसदहरूको एक समूहले कश्मीरको भ्रमण गरेकै बेला यो घटना भएको छ।

गत अगस्टमा भारतले कश्मीरको विशेष संवैधानिक हैसियत खारेज गरिदिएपश्चात् कुनै विदेशी प्रतिनिधिमण्डलको यो पहिलो भ्रमण हो।

सयौँ मानिसहरूलाई बन्दी बनाइएको तथा इन्टरनेट सेवा अवरुद्ध भइरहेको बेला भारत सरकारले स्थिति सामान्य भइसकेको जस्तो देखाउने प्रयास गरेकोप्रति त्यहाँका मानिस क्रुद्ध भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *