उपनिर्वाचनले सङ्घीय प्रणाली कार्यान्वयनमा सघाउ पुग्छः उपसभापति गच्छदार

डिसी नेपाल
१५ कार्तिक २०७६ २२:०८

विराटनगर। नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचनले सङ्घीय प्रणाली कार्यान्वयनमा सघाउ पुग्ने बताएका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न उपनिर्वाचनबाट मद्दत पुग्ने बताए। काङ्ग्रेस संसदीय दलका उपनेता समेत रहनुभएका नेता गच्छदारले पार्टीको आजको बैठकले धरान उपमहानगरपालिकाका प्रमुखका लागि तिलक राईलाई सर्वसम्मत् उम्मेदवार छनोट गरेको जानकारी दिए। उनले कात्तिक १७ गते बस्ने काङ्ग्रेस पदाधिकारी बैठकले अन्य उम्मेदवार सर्वसम्मत रुपमा छनोट गर्ने बताए।

“अहिले पार्टीभित्र कुनै गुटउपगुट छैन”, उनले भने। आगामी उपनिर्वाचनले जनताको अभिमत र भावनालाई बाहिर ल्याउने तर पार्टीले यसलाई प्रतिष्ठाको विषय नबनाएको उपसभापति गच्छदारको धारणा थियो । आगामी उपनिर्वाचनलाई सरकारको कामको जनताले गर्ने मूल्याङ्कनको परिणामका रुपमा हेर्नुपर्ने उनको भनाइ थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *