खेलक्षेत्रको अन्तर्राष्टिय अनुभव लियौँः नेपाली सेना

डिसी नेपाल
१६ कार्तिक २०७६ १०:५०

उहान, चीन । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा सैनिक कूटनीतिक सम्बन्ध विस्तार र खेलक्षेत्रमा विकसित अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न नेपाली सेना सफल भएको छ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलद्वारा चीनको उहानमा आयोजित उक्त प्रतियोगितामा पदक प्राप्त गर्ने सूचीमा नपरे पनि कयौँ विधामा विभिन्न मुलुकलाई पछि पार्दै सेनाले प्रतिस्पर्धाका लागि आफू सक्षम रहेको पुष्टयाई गरेको छ।

नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझी भन्छन्, “यस पटक मेडल प्राप्त गर्न सकेनौँ, तर पनि धेरै राष्ट्रलाई पछि पार्न सफल रह्यौ।

विभिन्न मुलुकका सेनासँग मित्रता कायम गर्ने र ओलम्पिक विजेतासम्मका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्यो, जुन हाम्रा लागि निकै महत्वपूर्ण र गौरवको विषय हो ।” नेपालले फ्रान्स, म्यान्मा, लक्जेम्बर्ग, बुर्गीना फाँसोलगायतका देशलाई बक्सिङ र ब्याडमिन्टनजस्ता खेलमा पराजित गरेको थियो।

विश्वका १०९ मुुलुकका नौ हजार ३०८ सैनिक खेलाडीको सहभागिता रहेको उक्त प्रतियोगितामा दुई प्रदर्शनीसहित २७ खेल विधा समावेश गरिएको थियो । आयोजक राष्ट्र चीन, रसिया र ब्राजिलले प्रतियोगितामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे । प्रतियोगितामा पदक जित्ने ६६ मध्ये ३३ राष्ट्रले स्वर्ण पदक जित्न सफल भए।

पहिलो पटक सहभागी भएको नेपालले १३ विधामा प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा तुलसा खत्रीले ट्राक एण्ड फिल्डअन्तर्गतको ४०० मिटरको दौड ५९।५७ सेकेन्डमा पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरे भने सोही विधाको ८०० मिटर दौडमा सोमबहादुर कुमालले अन्तिम चरणमा प्रवेश गर्ने अवसर प्राप्त गरे ।

छोटो समयको तालीम लिएर उक्त प्रतियोगितामा भाग लिन ४० जना खेलाडी उहान पुगेका थिए। प्रशिक्षकलाई समेत खेलक्षेत्रका नवीनतम् ज्ञान पर्याप्त थिएन।

महासेनानी रायमाझी भन्छन्, “अन्तर्राष्ट्रिय खेलजगतमा हामीले हाम्रो क्षमता देखेका थिएनौँ, छनोट गरेर ल्याएका केही खेलाडीबाट राम्रो प्रदर्शन पनि भयो, हामीले कल्पनासम्म नगरेका खेल मैदान देख्न र त्यसमा खेल्न पायौँ।”

तीस जना सहभागी रहेको बक्सिङको ४९ केजी तौल समूहमा तेजबहादुर देउवा पाँचौँ भए भने महिलातर्फ ६० केजी समूहमा पुनम रावले पनि पाँचौँ स्थान हाँसिल गरे।

नेपाली खेलाडी प्रतिस्पर्धामा अब्बल देखिए पनि कतिपय खेल विधामा अङ्क प्राप्त गर्ने नवीनतम् विधिबारे अनविज्ञ भएका कारण नतिजा हासिल चुनौती खडा भएको प्रतिक्रिया प्राप्त भएको थियो।

ब्याडमिन्टनतर्फ ३२ जना सहभागी रहेको प्रतिस्पर्धामा रञ्जीत तामाङ र अनुमाया राईले पाँचौँ स्थानमै सीमित हुनु पर्यो भने ६२ केजी तौल समूहमा भएको कुस्तीमा सुशीला चन्द पाँचौँ भए ।

पदकका लागि नेपालले निकै आशा गरेको २० राष्ट्रको सहभागी रहेको तेक्वान्दो ८० केजी तौल समूहमा रामदत्त भट्ट र २७ जना सहभागी रहेको ६३ केजी तौल समूहमा ज्ञानेन्द्र हमाल दुवैले सातौँ स्थानमै चित्त बुझाउनु पर्यो ।

सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख रायमाझी भन्छन्, “नेपालले सातौँ सिजम्स् वल्र्ड मिलिटरी गेम्सबाट उत्कृष्ट अनुभव बटुलेको छ, निकट भविष्यमा हुने साफ र अन्य खेलमा नेपाली खेलाडीले राम्रो प्रदर्शनी गर्न सक्छन् भन्ने आशा छ ।”प्रतियोगितमा सहभागी हुने क्रममा प्रतिनिधिमण्डलस्तर र खेलाडीबीचको भेटघाटमा भएका अनुभव आदानप्रदानले सैनिक कुटनीति विस्तारमा समेत योगदान पुगेको छ।

उहानमा देउसी भैलो

प्रतियोगिताको समापनपछि नेपाली टोलीले त्यहाँस्थित एथलेक्टिस भिलेजमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउने उद्देश्यले देउसी– भैलो गर्नुका साथै नेपालसम्बन्धी विभिन्न जानकारीमूलक कार्यक्रम र प्रचारप्रसार सामग्री वितरणसमेत गरेको थियो।

उहाँन स्पोर्टस् सेन्टरमा यो शताब्दीकै गौरव गर्न लायक भव्य अनि रोचक कार्यक्रम गरी आयोजक राष्ट्र चीनले प्रतियोगिता समापन भएको घोषणा गरेको थियो। सैनिक गौरवः विश्व शान्ति मूल नारा रहेको राष्ट्रपति सी चिनफिङले ९अक्टोबर १८० मा उद्घाटन गरेको समारोह निकै भव्य, सभ्य र आकर्षित तुल्याइएको थियो। चीनको आतिथ्य र व्यवस्थापनको सर्वत्र प्रशंसै–प्रशंसा भएको थियो।

खेलकूदका माध्यमबाट भाइचारा, शान्ति र विकासको सन्देशसहित सबै प्रतियोगता उहान नगरमै आयोजना भएका थिए। उहानको ३५ स्थानमा विभिन्न खेल विधाका ३२९ वटा प्रतिस्पर्धा आयोजना गरिएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *