उपनिर्वाचन : कांग्रेसले उम्मेद्वार चयन गर्न किन सकेन?

डिसी नेपाल
१७ कार्तिक २०७६ ७:२०

काठमाडौं। मंरिस १४ मो कास्की –२ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनको मिति नजिकिँदै गर्दा पार्टीहरु धमाधम उम्मेद्वार चयन गर्दै चुनावी प्रचार/प्रसारमा जुटिरहेका बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने उम्मेद्वार चयन गर्न सकेको छैन।

सत्तारुढ दल नेकपाले तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने साझा पार्टीले रजकी केसीलाई उम्मेद्वार चयन गर्दै चुनाव प्रचारमा व्यस्त छ। तर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने हालसम्म उम्मेद्वार चयन गर्न सकेको छैन। कांग्रेसले उम्मेद्वार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको हो।

कांग्रेसको विधानमा उम्मेदवार छनोटको अधिकार संसदीय समितिलाई दिइएको छ । कांग्रेसमा हाल संसदीय समिति छैन। सभापति शेरबहादुर देउवाले नियमित कार्यकाल सकिन लाग्दासमेत विभागहरूलाई पूर्णता दिन सकेका छैनन्। संसदीय समिति नभएकै कारण उक्त समितिको अधिकार पदाधिकारी बैठकमा प्रत्यायोजन गरेर उम्मेदवार टुंगो लगाउने कांग्रेसको तयारी छ।

सभापति देउवासहित कांग्रेसमा ८ जना पदाधिकारी छन्। पदाधिकारी बैठकमा गुटगत राजनीतिलाई प्रवेश गराउँदै संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आएका कृष्णप्रसाद सिटौलालाई पनि आमन्त्रण गरिएको छ।

संस्थापन पक्षसहित कांग्रेसमा प्रत्यक्ष रूपमा देखिएका यी तीन गुटबीचकै छलफलमा पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाउने भएको हो। पदाधिकारी बैठकमा पौडेल र सिटौलाको उपस्थितिलाई उपनिर्वाचनका लागि उम्मेदवार छनोटमा तीन पक्षबीच भागबण्डा हुन लागेको अर्थमा कतिपयले बुझ्न थालेका छन्।

पार्टीमा संस्थापन, पौडेल नेतृत्वको संस्थापन इतर र सिटौला नेतृत्वको तेस्रो गुटको प्रतिनिधित्व हुने सुनिश्चित गरी पदाधिकारी बैठकले उम्मेदवार चयन गर्ने भएकोमा साना गुटले विरोध जनाएका छन्। उनीहरूले पदाधिकारी बैठकमा पौडेल र सिटौलाको उपस्थितिको आधार नभएको दाबी गर्दै असन्तुष्टि जनाएका हुन्।

कांग्रेसले धरान उपमहानगरपालिकामा हुने नगर प्रमुखको उपनिर्वाचनका लागि जिल्लाबाट सिफारिस गरिएका तिलक राईलाई उम्मेदवार बनाउने पनि निर्णय गरिसकेको छ। राईलाई नगर समिति, क्षेत्रीय समिति र जिल्ला कार्यसमिति सुनसरीले उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको थियो। उम्मेदवारको अन्तिम टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक आइतबार आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

२०७४ को आमनिर्वाचनमा अधिकारी २७ हजार २ सय ७ मत प्राप्त गरेर विजयी भएकाले थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए। कास्कीमा मुख्यतः नेकपा र काँग्रेसकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिए पनि साझा पार्टीबाट उम्मेदवार बनेकी रजनीले कास्कीको प्रतिस्पर्धालाई त्रिपक्षीय बनाउने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *