जर्मनीको ड्रसडेनमा ‘नाजी संकटकाल’ घोषणा
बर्लिन (एजेन्सी) । जर्मनीको स्याक्सोनी राज्यको राजधानी ड्रेसडेन लामो समयदेखि उग्र दक्षिणपन्थीहरूको गढका रूपमा चिनिँदै आएको छ । ड्रेसडेनमै इस्लाम विरोधी पेगिडा आन्दोलन पनि सुरु भएको थियो । युरोपको सांस्कृतिक राजधानीका लागि सन् २०२५ को एक प्रतिस्पर्धी शहरका पार्षदहरूले उग्र दक्षिणपन्थी समस्या समाधान गर्न थप काम गर्नुपर्ने निर्णय गरेका हुन् । तर विपक्षीहरूले त्यो निर्णयको आलोचना गरेका छन् ।
‘नाजिनोटस्ट्याण्ड’ भनेको जलवायु संकट जस्तै हो – हामीकहाँ यसको गम्भीर समस्या छ । खुला प्रजातन्त्रिक समाजमाथि खतरा बढेको छ,’ प्रस्ताव दर्ता गरेका पार्षद म्याक्स आस्केनबाखले भने । वामपन्थी झुकाव राख्ने राजनीतिक दल डी पार्टीका आस्केनबाखले राजनीतिकर्मीहरूले उग्र दक्षिणपन्थीविरुद्ध ‘स्पष्ट धारणा’ नराखेकाले त्यस्तो कदम चाल्न परेको बताए ।
उनले भने, ‘यो प्रयास केही पनि नगरीकन बस्ने स्थितिमा परिवर्तन ल्याउन गरिएको हो । ड्रेस्डेनको नगर परिषद्मा म कस्तो मानिसको छेउमा बसिरहेको छु भन्ने जान्नका लागि पनि यो कदम चालिएको हो ।’
प्रस्तावमा भनिएको छ, ‘दक्षिणपन्थी अतिवादी व्यवहार र कारबाही‘निरन्तर भइरहेका छन्’ शहरले उग्र दक्षिणपन्थी हिंसा पीडितहरूलाई सहयोग गर्नुपर्छ र अल्पसंख्यकलाई संरक्षण गर्दै प्रजातन्त्र सुदृढ बनाउनुपर्छ । आस्केनबाखले नगर परिषद्ले प्रस्ताव पारित गरेर उदार प्रजातान्त्रिक समाजले अल्पसंख्यकको संरक्षण गर्ने तथा नाजीको विरोधप्रति प्रतिबद्धता प्रकट गरेको छ ।
आस्केनबाखको प्रस्ताव ड्रेसडेन नगर परिषद्मा बुधवार राती मतदानका लागि प्रस्तुत गरिएको थियो । प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा २९ मत परेको थियो । जर्मनीको सत्तारुढ क्रिस्चियन डेमोक्र्याट्स (सीडीयू)ले प्रस्तावको विपक्षमा मतदान गरेको थियो । ‘हाम्रो विचारमा यो प्रस्ताव नियतवश भड्काउनका लागि पेश गरिएको थियो,’ सीडीयू नगर परिषद समूहका अध्यक्ष यान डनहाउसरले भने ।
‘संकटकाल’ भनेको त कानुनी राज धरमराउनु वा गम्भीर खतरामा पर्नु हो । त्यो त भएकै छैन । र, उग्र दक्षिणपन्थी अतिवादमाथि केन्द्रित हुनुले हामीलाई के चाहिएको हो भन्नेप्रति न्याय गर्दैन । डनहउसरले भने, ‘बहुमत’ ड्रेसडेनरहरू ‘न उग्र दक्षिणपन्थी अतिवादी हुन् न प्रजातन्त्र विरोधी हुन् ।’
आस्केनबाखले उनको प्रस्ताव पारित गरे पनि शहर कुनै कारबाही गर्न बाध्य छैन ‘तर सिद्धान्तगत रुपमा विद्यमान उपायहरूलाई उच्च प्राथमिकता दिनुपर्छ र भावी निर्णयहरू यसमा आधारित हुनुपर्छ’ भनेका छन् । प्रस्तावको विपक्षमा मत प्रस्तुत गरेको सीडीयूले ‘राजनीतिक रूपमा नियोजित हिंसासँग लड्न निश्चित संस्थाहरूलाई बलियो बनाउनुपर्छ’ भनेको छ । उग्र दक्षिणपन्थी अतिवादबारे लेख्दै आएका राजनीतिशास्त्रका जर्मन प्रोफेशर काइ अर्जहाइमरले प्रस्तावको प्रभाव सांकेतिक मात्र भएको बताए ।
‘यसले अतिवादसँग लड्न कार्यक्रम र रकम छुट्याउन आवश्यक रहेको भन्ने पनि हुन सक्छ,’ उनले भने । ‘अरु शहरले नाजी संकटकाल त घोषणा गरेका छैनन् जस्तो लाग्छ तर उग्र दक्षिणपन्थी अतिवादविरुद्ध प्रस्ताव पारित गर्ने भन्ने त अरुतिर पनि भएको छ ।’ ड्रेसडेन उसको उग्र दक्षिणपन्थी सम्बन्धका लागि लामो समयदेखि परिचित छ ।
सन् १९९० को सुरुवाततिर नव नाजी समूहले सन् १९४५ मा ब्रिटिश र अमेरिकी फौजले गरेको आक्रमणलाई उनीहरूकै शब्दमा ‘द बम्बिङ होलोकष्ट’को संस्मरण गर्दै प्रदर्शन गर्दै आएका छन् ।
त्यसैगरी स्याक्सनी राज्य उग्र दक्षिणपन्थी न्याशनल डेमोक्र्याटिक पार्टीको वर्चस्व रहँदै आएको छ । ड्रेसडेनमा इश्लाम विरोधी पेगिडा आन्दोलनको सुरुवात सन् २०१४ मा भएको थियो । पेडिगा समर्थकले इश्लामवादी अतिवादीहरूबाट मानिसहरू सचेत रहनुपर्ने बताउँदै आएका छन् ।
Facebook Comment