सत्तारुढ समाजवादी र राप्रपाद्वारा कास्की २ मा उम्मेदवार चयन

डिसी नेपाल
१८ कार्तिक २०७६ ६:५२

पोखरा । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०ले उम्मेदवार चयन गरेका छन्।

सत्तारुढ दल समाजवादीले पार्टीका प्रदेश कमिटीका सदस्य इञ्जिनीयर धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिए । उम्मेदवार गुरुङ भूतपूर्व सैनिकसमेत हुन्।

त्यसैगरी राप्रपाले पार्टीका केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रचार विभागका सदस्य सूर्य बाँस्तोलाले जानकारी दिए ।

उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्व रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली काङ्ग्रेसले भने अहिलेसम्म उम्मेदवार चयन गरिसकेको छैन । काङ्ग्रेसले जिल्लाबाट उम्मेदवारका आकाङ्क्षी रहेका १६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको क्षेत्रमा उपचुनाव हुन लागेको हो।जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनका लागि ७१ हजार ८७१ मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । जसमा पुरुष ३३ हजार १०६ र महिला ३८ हजार ७६४ छन् ।

अघिल्लो निर्वाचनमा ७० हजार ६५१ मतदाता रहेकोमा यसपटक एक हजार २२० जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि ३२ निर्वाचनस्थल र ८२ वटा केन्द्र तोकिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार आगामी कात्तिक २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *