महोत्सवमा पूर्णकलालाई दर्शकको साथ

डिसी नेपाल
१८ कार्तिक २०७६ १९:५२

चितवन । लोक तथा दोहोरी गायिका पूर्णकला बिसीले गीत गाउन थालेपछि नारायणी महोत्सवमा उपस्थित दर्शकले नाचेर साथ दिएका छन् ।

महोत्सवको चौथो दिन सोमबार महोत्सवको स्टेजमा उक्लिएर गीत गाउन सुरु गरेकी बिसीको गीतमा दर्शकले तालीसँगै नाचेर साथ दिएका हुन् ।

लोक तथा दोहोरी गायिका बिसीले महोत्सवमा ‘झमझम पानी परेको रात…., मन त पराउँछु…., गाई खाने के कसम खाने…., मायालुले भिरेको झोला…., म त हजुर गुल्मेली….’ लगायतका गीतहरु गाएकी थिइन् ।

झाउरे लयको गीत गाई खाने के कसम खाने गर विश्वास म तिम्रै हो भने बोलको गीतमा केही तातिएका दर्शकहरु पञ्चेबाजाको तालमा रहेको म त हजुर गुल्मेली बोलको गीतमा छमछमी नाचेर बिसीलाई साथ दिएका थिए । त्यस्तै गायिका बिसीले दोहोरी समेत गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन् ।

शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को चौथो दिन सोमबार चर्चित गायक प्रकाश सपुतले समेत आफ्नो प्रस्तुती राखेका थिए । करिब साँझको ६ बजेतिर स्टेजमा उक्लिएका प्रकाशले उनको चर्चित गीत गलबन्दी… सहित अन्य गीतहरु गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

महोत्सवमा कमेडियन राजा राजेन्द्र पोखरेलले समेत आफ्नो प्यारोडी मार्फत दर्शकलाई हँसाएका छन् । सोमबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितनवनका कलाकारहरुको समेत विशेष प्रस्तुती रहेको थियो ।

सोमबार करिब १२ हजार दर्शकले महोत्सवको अवलोकन गरेका आयोजक रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए । सोमबार बजारका अधिकांश पसलहरु बन्द भएका कारण समेत दर्शकहरु बढेका राजकर्णिकारको भनाइ छ । महोत्सव अवलोकनका लागि दर्शकहरुको संख्या दिनप्रतिदिन बढ्ने क्रममा रहेको उनले बताए ।

मंगलबार भने महोत्सवको सांस्कृतिक कार्यक्रममा राजनराज सिवाकोटी, प्रताप दास, दीक्षा सुनुवारलगायतका कलाकारहरुको प्रस्तुती रहने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए ।

महोत्सवमा शिव परियार, दुर्गेश थापा, कमला घिमिरेलगायतका धेरै कलाकारहरु आउन बाँकी नै रहेको अधिकारीको भनाइ छ । तीन सय व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती भइरहेको अधिकारीले बताए ।

कात्तिक २५ गतेसम्म हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको लागि काम गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग तथा स्टीमर चढ्ने सुविधा समेत रहेको छ ।

महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ ।

महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *